प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे अहिले सोच्नै सकिन्न : माधव नेपाल

335

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने स्पष्ट पारेका छन् ।

उनले भने,‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न । यो सरकारले काम गरेर देखाउँछ । मैले प्रधानमन्त्रीसँग पटक–पटक कुरा गरेको छु । उहाँमा आत्मविश्वास छ । मसँग उहाँले कमिटमेन्ट गर्नुभएको छ । मैले भनेको छु, हामी छौं अरुको कमिकमजोरी आलोचना गर्न । तपाई ढुक्क भएर सरकार सञ्चालन गर्नुहोस् । यदि कमिकमजोरीहरु भएका छन् भनेपनि सुधार गरेर जानुपर्छ ।’

भ्रष्टाचार अन्त्य गर्ने कुरामा वर्तमान सरकार सफल हुनेपनि उनको दाबी छ । क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको पत्रकाहरुको देउसी टोलीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने,‘केपी ओलीको सरकार भनेको नेकपाको सरकार हो । कम्युनिष्ट पार्टीको सरकार हो । यसको अगुवाई ओलीजीले गर्नुभएको छ । यो सरकार असफल भयो भने सिँगो पार्टी असफल भएको देखिन्छ । यो सरकारसँग भीजन छ । संकल्प छ । यसले आफ्ना प्राथमिकताहरु निर्धारण गरेको छ । भएका साधन र स्रोतको उपयोग कसरी गर्ने भन्नेपनि प्रधानमन्त्रीजीसँग स्पष्ट सोच छ ।’

उनले प्रधानमन्त्रीले अब कर्मचारीतन्त्रलाई पनि त्यही ढंगले परिचालन गर्नुपर्ने धारणा राखे । उनले भने,‘मन्त्रीहरुलाई परिचालन गर्न पार्टी बलियो हुनुपर्छ । पार्टीले सबै ठाउँमा आफ्नो ध्यान दिनुपर्छ । आफ्नो पार्टीका गतिविधिहरुलाई निरिक्षण गर्नुपर्छ । अनुगमन गर्नुपर्छ । सरकारको कामपनि अनुगमन गर्नुपर्छ । निर्माण व्यवसायीहरुले काम गरिरहेका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्छ । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here