दशैंको दिनमा घरकै आगनमा जन्मदिने आमालाई गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी सन्ध्या घिमिरेले घरको भित्तामा झुन्डाएको आमाको तस्वीरलाई हेर्न सक्दिनन् । आमाको तस्वीर आँखामा परेलगत्तै सन्ध्याको आँखाको परेलीबाट आँसु भुईमा खस्छ ।
उमेरले १३ बर्षमा प्रवेश गरेपनि सन्ध्याले ८ बर्षकी बहिनी साधनासंगै आमाको न्यानो काखमै रात बिताउने गरेको दिनहरुलाई सम्झिएर भक्कानिछिन् । दशैंमा आमाको हातबाट टिका लगाएको केही समयमै आँखै अगाडी आमालाई गुमाएको पीडाले बेलाबेलामा पोल्ने गरेको छ। आमालाई गुमाएपछि धेरैपटक उनले लुकेर आँखाबाट खस्ने आँसुलाई हातले पुच्छने गरेकी छन् ।
बैदेशिक रोजगारमा इराकमा रहेका बुबालाई टेलिफोनमा हाँसेरै बोल्ने र घरमा हजुरबुबा हजुरआमाको अगाडी घरायसी काममा सहयोगी बन्दै हसिँलो अनुहार बनाएपनि सन्ध्याले बहिनी र अंकलको अपाङ्ग भाईले आमाको खोजी गर्दा जवाफविहिन हुन्छिन् ।
आमाको मृत्यु भएपछि पिडा सहन नसक्ने अवस्थामा रहेकी सन्ध्या र उनकी बहिनीको शिक्षादिक्षा र पालनपोषणमा परिवारका सदस्य नै चिन्तित छन् ।एकैपटक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ऋणधन गरी करिव ८ लाख उपचारमै र बैदेशिक रोजगारमा ठुलो रकम खर्चिएर इराकको कुर्दिस्तान पुगेका गोविन्दको राम्रो कमाइ नभएपछि ऋण समेत तिर्न सकेका छैनन् । छोराको वैदेशिक यात्रा र बुहारीको उपचारमा लिएको ऋण तिर्ने उपाय नभएपछि हिरा बहादुर घिमिरे चिन्तित छन् ।
‘बुहारीको उपचारमा धेरै खर्च गरियो,‘अन्तिम समयमा केही सहयोग प्राप्त भएपछि राहत भएपनि अझै ऋण छ‘ घिमिरेले भने । उनले छोरालाई दलालले राम्रो तलब हुन्छ भनेर इराक पुर्याएपनि सोचेजस्तो कमाई नभएकाले ऋणको ब्याज समेत तिर्न मुस्किल भएको घिमिरेको भनाई छ ।’दुईछोरीलाई राम्रो पढाउँछु भनेर बुहारीले धेरै मेहनत गर्न गरेकी थिईन्,‘बुहारीलाइ्र्र गुमाएपछि शिक्षादिक्षाकै समस्या भएको छ’ घिमिरेले भने । उनले आमालाई आगनमै गुमाएकाले बेलाबेलामा सम्झिएर रुने गरेकाले पनि घरबाट बाहिर लगेर पढाउन दाताको खोजी गरेको जनाए ।
उनले कान्छो छोराको अपाङ्ग नातीलाई नियमित उपचार गर्नुपर्ने भएकाले पनि घरको आर्थिकले ठेग्न नसकेको जनाए ।समान्य खेतीपाती गर्ने घिमिरले दुईवटा नातिनीलाई बेनीमा पढाउन पहल गरिदिन अनुरोध गरे । गाउँकै हंशबाहिनीमा अध्ययरत दुवैको पढाई राम्रो भएपनि घरमा उचित वातावरण नभएको उनले जनाए । यसैबीच घिमिरेका आफन्तले समेत सहयोग संकलन गरिरहेका छन् ।
सिताको उपचारमा आर्थिक सहयोग संकलनले अपुग भएपछि ऋण खोजेर उपचार गराउने क्रममा मृत्यु भएपछि दुई छोरीको शिक्षादिक्षाका लागी सहयोगी दाताको आवश्यकता रहेको गणेश घिमिरे ‘देबेन्द्र’ले बताए ।‘आमाको निधनपछि घरमै बसेर पढाई निरन्तरता दिन सम्भव छैन्,‘सानो सानो सहयोगको अपिल गरेको छु’ घिमिरेले बेनीअनलाइनलाई भने ।
उनले आमाको उपचार र बुबाको बैदेशिक रोजगारमा जाने क्रममा करिव १७ लाख ऋण भएकाले पनि दुई छोरीको शिक्षालाई निरन्तरता दिन निकै समस्या भएको बताए । उनले सहयोग संकलन गरी निशुल्क कक्षा १२ सम्म सदरमुकाम बेनीकै निजी तथा सामुदायिक विद्यालयमा पढ्ने वातावरण बनाउने अभियानमा सहयोग गर्न अपिल समेत गरेका छन् । थप जानकारीका लागि गणेश घिमिरे ‘देबेन्द्र’ ९८४७६३५४१८ लाई सम्पर्क गर्नुहोला ।बेनी अनलाईनबाट


















