एकैपटक ६ लाख सञ्चयकर्ताको बिमा गर्दै सञ्चयकोष

411

 काठमाडौं / कर्मचारी सञ्चय कोषले ६ लाख सञ्चयकर्ताको औषधोपचार र घातक रोगको बिमा गर्ने भएको छ । कोषले हरेक सञ्चयकर्ताको ११ लाख रुपैयाँ बिमांक रकमबराबरको बिमा हुने गरी बुधबार राष्ट्रिय बिमा कम्पनीसँग सम्झौता गरेको छ ।

यो बिमा योजना मंसिर १ गतेदेखि लागू हुनेछ । सरकारी तथा निजी क्षेत्रमा काम गर्दै आएका कर्मचारीको हितका लागि काम गर्दै आएको कोषले सञ्चयकर्ताको सामाजिक सुरक्षाअन्तर्गत बिमा सुविधाको पनि सुरुवात गरेको हो । बुधबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै कोषका प्रशासक तुलसीप्रसाद गौतमले आगामी दिनमा सञ्चयकर्ताको परिवारको पनि बिमा गर्ने योजना रहेको बताए ।

‘कर्मचारीलाई अवकाश पाएपछि मात्रै होइन, बहाल रहेकै अवस्थामा पनि वित्तीय संकट पर्न सक्छ,’ उनले भने, ‘त्यसमा पनि स्वास्थ्योपचार अहिले विकराल भन्दै गएको छ । यही समस्यालाई मध्यनजर गरी बिमा सुविधा सुरु गरेका हौँ ।’ कार्यक्रममा राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले कोषसँगको सम्झौता उदाहरणीय कार्य भएको बताए ।

बिमालेखले रक्षा गर्ने जोखिमहरू
कुनै पनि दुर्घटना हुँदा औषधोपचार गर्नुपरेमा कम्पनीले सञ्चयकर्तालाई १ लाख रुपैयाँभित्र रही दाबी भुक्तानी गर्नेछ । त्यसैगरी घातक रोगबापत १० लाख रुपैयाँसम्म दाबी भुक्तानी गर्नेछ । घातक रोगअन्तर्गत नेपाल सरकारले तोकिदिएका रोगहरू हृदयाघात, मिर्गौला काम नलाग्ने, अलजाइमर, पार्किन्सन, क्यान्सर, टाउकोको चोट, स्पाइनल इन्जुरी, सिकलसेल एनेमिया, कलेजोले काम नगरेको अवस्थालगायतका पर्छन् ।

कति लाग्छ बिमाशुल्क
कर्मचारी सञ्चयकोषले पहिलो वर्ष ६ लाख सञ्चयकर्ताको बिमा गरेको छ । त्यसका लागि प्रतिव्यक्ति प्रतिवर्ष ४२० रुपैयाँ बिमाशुल्क भुक्तानी गर्नुपर्नेछ । पहिलो वर्ष कोषले बिमाशुल्कबापत २५ करोड २० लाख ९मूल्य अभिवृद्धि कर तथा टिकट शुल्कबाहेक० रुपैयाँ भुक्तानी गर्नेछ । उक्त रकम कोषको मुनाफाबाट सिर्जना गरिएको जगेडा कोषबाट व्यवस्थापन हुनेछ । साथै, आगामी वर्ष भने बिमा दाबी र सञ्चयकर्ताको संख्याको आधारमा बिमाशुल्क पुनरावलोकन गरिनेछ ।

दाबी भुक्तानीका सीमा
यस बिमायोजनाअनुसार बिमा कम्पनीले बिमांक रकमभित्र रही दाबी भुक्तानी गर्नेछ । तर, दाबी भुक्तानीका लागि बिमालेखमा विभिन्न अवस्था र सीमा तोकिएका छन् । जस्तैः एउटा बिमितले घातक रोग लागेबापत अधिकतम १० लाख रुपैयासँम्म दाबी गर्न पाउँछ । तर, अपरेसन थिएटर खर्चबापत ३० हजार रुपैयाँ मात्रै व्यहोर्ने व्यवस्था छ । बाँकी बिमितले नै व्यहोर्नुपर्नेछ । त्यस्तै, चिकित्सक जाँच शुल्करएक्सरेरस्पेसलिस्ट चार्जरप्योथोलोजिस्ट खर्चररोक निदान उपकरण शुल्कबापत एक बिमितलाई अधिकतम २० हजार रुपैयाँ भुक्तानी हुन्छ । अस्पताल भर्ना शुल्क अधिकतम २५ हजार रुपैयाँ पाइनेछ । त्यसका लागि प्रतिदिन २ हजार रुपैयाँ तोकिएको छ ।

सर्जिकल सामग्री खरिद गर्न एक वर्षमा अधिकतम ८ हजार रुपैयाँ कम्पनीले भुक्तानी गर्नेछ । यसमा ३ हजार रुपैयाँसम्मको कृत्रिम हात वा खुट्टासमेत समावेश गर्न सकिन्छ । त्यस्तै, एकपटकमा ५ हजार रुपैयाँमा नबढ्ने गरी अधिकतम १५ हजारसम्मको औषधि खरिद खर्च पाइनेछ । साथै, बढीमा दुईपटक ४ हजार ५ सयसम्मको दरले प्रसूति वा सिजरियन खर्च पाइनेछ । तर, बिमा अवधिमा अधिकतम १ लाख रुपैयाँ नबढ्ने गरी न्यूनतम ३ हजार रुपैयाँ वा वास्तविक खर्चको १५ प्रतिशत कट्टा गरी कम्पनीले सुविधाहरू प्रदान गर्नेछ ।

कसरी गर्ने दाबी
बिमितले दाबी गर्दा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिन वा बिरामी भएको ६० दिनभित्र कम्पनीलाई जानकारी गराउनुपर्नेछ । आवश्यक कागजपत्रसहित अस्पतालबाट डिस्चार्ज भएको सामान्यतः ६ महिनाभित्र दाबी पेस गरी सक्नुपर्नेछ ।

भुक्तानी अवधि र प्रक्रिया
बिमित सञ्चयकर्ताले सम्पूर्ण कागजात बुझाएपछि २५ हजारसम्मको दाबी भुक्तानी १५ दिनभित्र शाखा कार्यालय वा केन्द्रीय कार्यालयले भुक्तानी गर्नेछ । त्यस्तै, २५ हजारदेखि १ लाख रुपैयाँसम्मको दाबी भुुक्तानी ३० दिन र घातक रोगको भुुक्तानी ४५ दिनभित्र केन्द्रीय कार्यालयमार्फत हुने कोषले बताएको छ ।

बिमालेखले नसमेट्ने जोखिमहरू
यस बिमा योजनाले दुर्घटनाबाट उपचार गर्नुपर्ने अवस्थाबाहेकका दाँतको उपचार वा अपरेसन, आँखाको सामान्य जाँच वा चस्मा खरिद, श्रवण उपकरण खरिद, दुईभन्दा बढी सिजरियन, मादक पदार्थ वा लागुपदार्थ सेवन तथा अनधिकृत तबरबाट अन्य औषधिको सेवनका कारण सिर्जित रोगहरू तथा चोटपटकको उपचारबापतको दाबी भुक्तानी गर्दैन । त्यस्तै, आमहडताल, हुलदंगामा सहभागी हुँदा भएको चोटपटक वा उपचार खर्च, बिमालेखमा उल्लेख भएका सीमाबाहेकका अन्य खर्च पनि व्यहोर्दैन ।

कम्पनीले आयुर्वेदिक औषधिका खर्च तथा उपचार उपकरणहरूको प्रयोगबापतको भुक्तानी गर्दैन । तर, जन्डिसको उपचारका लागि भने दाबी भुक्तानी हुनेछ । देशको सीमाभन्दा बाहिर गरेका उपचार तथा खर्च पनि कम्पनीले भुक्तानी गर्दैन । तर, नेपालभित्र उपचार सम्भव नभएको चिकित्सकको सिफारिसबमोजिमको खर्च भने बिमालेखको सीमाको अधीनमा रही भुक्तानी भने गर्नेछ । नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here