काठमाडौं / निर्मला पन्तको बलात्कारपछि हत्याको खोजतलास झन झन रहस्यमय बन्दै गइरहेको छ ।
बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएर चरम शारीरिक एवं मानसिक यातना दिएका दीलिप विष्टका परिवारले क्षतिपूर्तिको माग गरेका छन् । प्रहरीले दीलिपलाई मुख्य अभियुक्त भन्दै पत्रकार सम्मेलन गरेर ४ भदौमा सार्वजनिक गरेको थियो । तर, मानसिक सन्तुलन गुमाएका उनलाई नक्कली अभियुक्त बनाएको भन्दै आन्दोलन भएको थियो । डिएनए परीक्षण गर्दा नमिलेपछि दीलिप रिहा भएका थिए ।
प्रहरीले हिरासतमा राख्दा दिएको यातनाले दीलिपको स्वास्थ्य बिग्रिएको उनका दाइ खडकले बताए । अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको जनाउँदै खडकले भने, ‘ऋण निकालेर उपचार गरिरहेको छु । सामाजिक रूपमा पनि परिवारको बदनाम गरिएको छ ।’


















