शरणार्थी पुनस्थापनाका विषयमा उच्चस्तरीय छलफल

206

काठमाडौँ, नेपालमा रहेका विभिन्न देशका शरणार्थीको स्वदेश फिर्ति तथा व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल भएको छ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालय(युएनएचसिआर)का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेबीच शुक्रबार यस विषयमा छलफल भएको हो ।
गृहमन्त्रालयमा भएको दुइ पक्षीय भेटवार्तामा नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्या लगायतका शरणार्थीको विषयमा केन्द्रीत रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र पुर्नस्थापनाका लागि युएनएचसीआरले गरीरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गरेका थिए ।
उनले भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुर्नस्थापना कार्यक्रम सफल भएको बताउँदै करिब एक लाख भुटानी शरणार्थीहरुलाई सो कार्यक्रममार्फत तेस्रो मुलुकमा व्यवस्थापन गरीएको बाँकी रहेका करिब ६ हजार पाँच सय भुटानी शरणार्थीहरुका सम्बन्धमा छिट्टै समाधान निस्कने विश्वास व्यक्त गरे ।
बाँकी रहेका भुटानी शरणार्थीहरुका सम्बन्धमा पनि विभिन्न विकल्पहरुबारे छलफल भईरहेको र उनीहरुलाई भुटानमै फर्काउनु नै स्थायी समाधान रहेको बताए । त्यसका लागि छिट्टै भुटान सरकारसँग नेपालले छलफल अघि बढाउन लागेको जानकारी गृहमन्त्री थापाले दिए । उनले शरणार्थीको अधिकारको विषयमा नेपाल सरकार गम्भिर रहेको बताए ।
निर्देशक रातवत्तेले शरणार्थीका विषयमा नेपालले खेल्दै आएको भूमिका सराहनीय रहेको टिप्प्णी गरे । बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारसँग मिलेर काम गर्न युनएनएचसिआर तयार रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here