काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट अलग भएका र विचार मिल्ने अन्य पार्टी र समूहसँग एकताका लागि सधैं तयार रहेको निर्णय गरेको छ ।
राप्रपाले बैठकपछि विज्ञप्ति जारी गर्दै खासगरी पार्टीबाट फुटेर गएका र अलग भएकाहरुलाई पार्टी एकताको ढोका सदैव खुला रहने जनाएको छ ।
बैठकले संगठन निर्माण तथा सुदृढिकरमा केन्द्रित हुने निर्णय पनि गरेको छ । पुस मसान्तभित्र देशभरका ७५३ वटै गाउँपालिका र नगरपालिकाको वडाहरुमा पार्टी ईकाई समितिको गठन एवं पुनर्गठन गर्ने निर्णय पनि गरेको बैठकपछि महामन्त्री भास्कर भद्राले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
२०७६ जेठ महिनामा ७ वटै प्रदेशको अधिवेशन र प्रदेश कार्यसमितिको गठन तथा पुस मसान्तभित्र ५० हजार थप सक्रिय सदस्यहरु बनाउने गरी सक्रिय सदस्यता वितरण अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।
राप्रपाले आगामी माघ १५ देखि २५ सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गरिने गर्ने निर्णय पनि गरेको छ ।


















