आज कस्तो होला विप्लव ‘नेकपा’को जनसभा ?

198

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आम सभाको तयारी पुरा गरेको छ । राजधानीको भृकुटीमण्डपमा आज हुने आम जनसभाको तयारी पुरा भएको विप्लव ‘नेकपा’ले जानकारी दिएको छ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले आज भृकुटीमण्डपमा जनसभा आयोजना गरेको छ।

यसअघि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई सम्बोधन गर्ने भनिएको भए पनि उनी सहभागी नहुने भएका छन् । अन्तिम घडीमा विप्लव सहभागी हुने कार्यक्रम स्थगित किन गरियो भनेर कारण खुलाइएको छैन ।

विप्लवको अनुपस्थितिमा हुन लागेको सभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य खड्गबहादुर वि.क. ‘प्रकाण्ड’ लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेकपाका अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किंराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको पनि नेकपाले जानकारी दिएको छ । माले महासचिव मैनाली नेकपाद्वारा आयोजित सभाका लागि सहभागी हुन जाने पक्का भएको छ ।

जनसभाअघि विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली निकाल्ने तयारी छ । लैनचौर, बबरमहललगायतको स्थानबाट निस्कने र्‍यालीलाई विभिन्न नेताहरुले नेतृत्व गर्ने नेकपाले जनाएको छ । बबरमहलको र्‍यालीलाई पोलिटब्यूरो सदस्य तथा केन्द्रीय जनपरिषद्का उपप्रमुख पदम राई, लैनचौरको र्‍यालीलाई केन्द्रीय जनप्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेल, कालीमाटीको र्‍यालीलाई गम्भीरलगायतका नेताले नेतृत्व गर्ने जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here