मेक्सिकोका राष्ट्रपतिले शनिबार सपथ ग्रहण गर्ने

173

मेक्सिको / मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने हुनुभएको छ । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ ।

‘आम्लो’ उपनामबाट चिनिने ओब्राडोरले गत जुलाईमा छ वर्षे कार्यकालका लागि भएको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी हुनुभएको थियो । साथै, उहाँको गठबन्धनले कङ्ग्रेसका दुवै सदनमा बलियो बहुमत हासिल गरेको छ ।

कुनै पनि राष्ट्रपतिले ल्याएको मतभन्दा बढी मत ल्याएर ओब्राडोर निर्वाचित हुनुभएको थियो । मेक्सिकोका लोकप्रिय यी नेता बामपन्थी हुन् । मेक्सिकोमा सन् २००० देखि बहुदलीय प्रजातान्त्रिक प्रणाली लागू छ ।

छ वर्षे कार्यकालमा ओब्राडोरको कार्यसूची के होला रु सर्वत्र चासोका साथ हेरिएको छ । राष्ट्रपति एन्रीक पेना निटोको कार्यकालका खराबीहरु हटाउने र मुलुकलाई सुशासन दिने नै उहाँको मुख्य लक्ष्य हुनेछ ।

ओब्राडोरको अघिल्तिर भ्रष्टाचार, लागूऔषधका तस्करविरुद्ध मेक्सिकोको युद्धले निम्त्याएको हिंसा तथा अमेरिका–मेक्सिको सीमामा शिविर खडा गरेर बसेका करिब ६ हजार मध्यअमेरिकी आप्रवासीको समस्या छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व गरिरहेको विशाल उत्तरी छिमेकी संयुक्तराज्य अमेरिकासँगको सम्बन्ध मेक्सिकोका नयाँ राष्ट्रपति ओब्राडोरका लागि फलामको च्यूरा सरह छ ।

ओब्राडोरले पहिलो कदमस्वरुप राष्ट्रपतीय निवास, राष्ट्रपतीय बिमान, राष्ट्रपतिको आधाभन्दा बढी तलब नलिने तथा राष्ट्रपतिको ठूलो सुरक्षा व्यवस्था त्याग्ने घोषणा गर्नुभएको छ । उहाँले भ्रष्टाचारविरोधी अभियान चलाउने तथा समाजकल्याणमुखी कार्यक्रम ल्याउने जनाउनुभएको छ ।

तर आलोचकहरुले ओब्राडोरको सरकार अतिवादी सोचबाट ग्रस्त हुने अनुमान गरेका छन् । खासगरी, व्यापारीहरु उहाँका भनाइबाट त्रासमा छन् । ओब्राडोर निर्वाचित भएसँगै मेक्सिकोको मुद्रा पेसो र सेयरबजार दुवै ओरालो लागेका छन् ।

तर, मेक्सिको सिटीका पूर्व प्रमुख समेत रहेका ओब्राडोरको लोकप्रियता घटेको छैन । एल फाइनान्सीरोले सोमबार प्रकाशन गरेको सर्वेक्षणमा ओब्राडोरको स्वीकारोक्ती दर ६६ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here