भक्तपुर / प्रेस काउन्सिल नेपालको आयोजना तथा वागीश्वरी माबीरकलेजको संयोजनमा आज सोमबार भक्तपुरको कमलबिनायकमा प्रेस काउन्सिल र पत्रकार आचारसंहिता विषयक अन्तक्रिया सम्पन्न भएको छ ।
पत्रकार आचारसंहिता जागरण अभियान, २०७५ अन्तर्गत शैक्षिक संस्थामा पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीबीच यसप्रकारको अन्तरक्रिया भएको हो। उक्त कलेजमा प्लस टु र स्नातक तहमा २४० जना विद्यार्थी पत्रकारिता पढ्दै आएका छन् ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गोबिन्दप्रसाद चौलागाईंले पत्रकारको जीवन संघर्षपूर्ण हुने हुँदा भोकनिन्द्रा नभनी रातदिन खटिनुपर्ने र धैर्यवान व्यक्तिले मात्रै सफलता प्राप्त गर्ने, सफलताको लागि कानुनी मूल्यमान्यता र आचारसंहिताको अक्षरस पालना गर्नुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताको वर्तमान अवस्था, अनुगमन तथा कारवाही , प्रेस काउन्सिलको भूमिका र मिडियाको सकारात्मक तथा नकारात्मक पक्ष समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो ।
पत्रकार महासघ भक्तपुर शाखाका पुष्कर बुढाथोकीले पत्रकारिता अध्ययन गरेर आएको जनशक्तिले पत्रकारिताको माध्यमबाट विकृती-विसङ्गतिको विरुद्धमा कलम समातेर खबरदारी गर्ने, अँध्यारो पक्षलाई उज्यालो देखाउने, जिम्मेवार र मर्यादित बन्नुपर्नेमा शुभकामना व्यक्त गर्दै तुलनात्मक भक्तपुरको पत्रकारिता शुद्ध रहेको जनाउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवं वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कार्यक्रमको आयोजनाका लागि काउन्सिल परिवारप्रति आभार व्यक्त गर्दै पत्रकारितामा करिअर बनाउने उद्देश्यले पत्रकारिता पढ्दै गरेका भाइबहिनीहरूले पत्रकार आचारसंहिता जान्नैपर्ने थियो, आजको कार्यक्रम फ्रुटफूल भएको धारणा राख्नुभयो ।
वागीश्वरी माविका सह प्राचार्य ज्ञानसागर प्रजापतिले कार्यक्रमको लागि काउन्सिलप्रती आभार व्यक्त गर्दै पत्रकारको कलम दुरुपयोग हुँदा गम्भीर किसिमका थुप्रै घटनाहरू घटेको प्रसङ्ग प्रस्तुत गर्नुभयो । मोबाइलको प्रयोगले विद्यार्थीको अध्ययनमा प्रभाव पारेको, सामाजिक संजालको प्रयोगले सामाजिक सम्बन्ध बिगारेको बताउनुभयो ।पत्रकारिता बिषयका शिक्षक प्रेम प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो । २१० जना विद्यार्थीरशिक्षक, अतिथिको सहभागिता रहेको थियो ।


















