मेलम्चीको पानी ६० दिन भित्रमा काठमाडौंमा आउने

155

काठमाडौँ, खानेपानी मन्त्रालयले बहुचर्चित खानेपानी आयोजना मेलम्चीबाट ६० दिनमा काठमाडौमा पानी ल्याउने प्रतिबद्धता जनाएको छ । खानेपानी मन्त्री विना मगरले दशैमा उपहार स्वरुप काठमाडौका जनतालाई मेलम्चीको पानी ल्याइदिने बताएपनि हालसम्म पनि उक्त आयोजनाले पूर्णता नपाउँदै तोकिएको समयमा पानी ल्याउने लक्ष्य पुरा हुन सकेको छैन् ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतबार बसेको बैठकमा मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले सम्पूर्ण काम ६० दिनमा सकेर सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी खसाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“यसअघिको मन्त्रालयको वाचाअनुसार दशैँअघि पानी नआएकामा क्षमा प्रार्थी छौँ, प्राविधिक काममा समस्या आएकाले समयमा काम सम्पन्न गर्न सकिएन, अब करीब दुई हजार मिटर सुरुङ ढलान गर्न बाँकी छ, तीन वटा ‘भ्यान्टिलेसन’को काम शुरु भएको छ, दुई महीनामा सम्पन्न गरी पानी ल्याउँछौँ”, उनले भने ।

अम्बाथानबाट सुरुङमा पानी हालेको तीन दिन भर्नै लाग्ने मन्त्रालयले जनाएको छ । चार महीनासम्म पुरानो संरचनाबाट पानी वितरण गर्ने तयारी भएको छ । त्यस अवधिमा नयाँ वितरण सञ्जाल परीक्षण गरी पानी हालिनेछ । पहिलो चरणमा पानी आएलगत्तै उपत्यकाका एक लाख ८० हजार धारामा पानी वितरण गरिने सचिव ठाकुरले बताए ।

मन्त्रालयले पानीको महसुल न्यूनतम रु ३०० हुने गरी बढाउने तयारी गरेको जनाएको छ । आर्थिक वर्ष २०५५÷२०५६ देखि शुरु भएको आयोजना चालू आवमा सम्पन्न गर्ने सरकारको लक्ष्य छ । यो आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानीमा वितरण हुनेछ ।

आव २०७२÷२०७३ देखि नै मेलम्चीको दोस्रो चरण शुरु भएको थियो । दोस्रो चरणमा याङ्री र लार्के खोलाको १७÷१७ करोड लिटर गरी थप ३४ करोड लिटर पानी उपत्यकामा ल्याइने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here