यस वर्षको सुपरहिट फिल्म ‘छक्का पञ्जा ३’ ले कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ । १३ वटा हलमा सफलतापूर्वक ५१ औं दिन मनाएको यस फिल्मका निर्माण टिमले मंगलबार राजधानीमा सफलताको पार्टी आयोजना गर्दै फिल्मलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउने सबैलाई सम्मान गरेको थियो ।
कार्यक्रममा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेकोमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, नीर शाह, भुवन केसी, छविराज ओझा, करिश्मा मानन्धर, विनोद मानन्धर, सन्दिप क्षेत्री, सिताराम कट्टेल, कुञ्जना घिमिरेलगायत दर्जनौ चलचित्रकर्मीले निर्माण टिमलाई ५१ औं दिने सफलताका लागि बधाई दिएका थिए । अधिकांशले फिल्मले हासिल गरेको सफलता नेपाली चलचित्र क्षेत्रका लागि ठूलो उपलब्धि रहेको जनाएका छन् ।
कार्यक्रममा बोल्दै फिल्मका कलाकार, निर्माता तथा लेखक दीपकराज गिरीले ‘छक्का पञ्जा ३’ को सफलता आफ्नो टिमको मात्र नभएको जनाए । उनले खुसी व्यक्त गर्दै भने, ‘’छक्का पञ्जा ३’ ले ५१ औं दिन मनाइरहेको छैन । यो नेपाली चलचित्र क्षेत्रको ५१ औं दिन हो । यो सफलताको खुसी नेपाली चलचित्र क्षेत्रलाई समर्पित गर्न चाहन्छु ।’
प्रतिस्पर्धाको बीच पनि हलिउड र बलिउड फिल्मले नेपालमा गरेको व्यापारभन्दा उत्कृष्ट व्यापार ‘छक्का पञ्जा ३’ ले गर्नु समग्र चलचित्र क्षेत्रको सफलता रहेको जनाउँदै उनले भने- ‘हामीसँग सीमित साधन स्रोत छ । यसकारण नेपाली फिल्मले प्रविधिसँग सक्दैन । तर, कथा, प्रस्तुती र मौलिकतामा अब हलिउड र बलिउड फिल्मसँग प्रतिस्पर्धा गर्न सक्छौं।’
यस्तै निर्देशक दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’ ले ५१ औं दिन मनाउनु ठूलो सफलता रहेको जनाउँदै फिल्मको सफलताको जस दर्शक र मिडियालाई दिएकी छिन् ।


















