ज्येष्ठ नागरिकको वृद्धाश्रममा बस्न बाध्य

414

काठमाडौं / ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका साथै उनीहरूले आफ्नै घरमा बस्न पाउनुपर्ने भए पनि पछिल्लो समयमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको अध्ययनले देखाएको छ ।

ज्येष्ठ नागरिकका परिवार नहुनु, पारिवारिक उपेक्षा, आर्थिक समस्या, आत्मसम्मानको खोजी र धार्मिक विश्वासका कारण ज्येष्ठ नागरिक घरबार छाडी वृद्धाश्रममा बस्न बाध्य हुँदै गएको अध्ययनले देखाएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले आज सार्वजनिक गरेको ‘वृद्धाश्रम, कल्पवास, दिवा सेवा केन्द्र र स्याहार केन्द्रसम्बन्धी अध्ययन प्रतिवेदन–२०७५’ मा ज्येष्ठ नागरिकले आफ्ना परिवारबाट टाढा रहेर वृद्धाआश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको उल्लेख छ ।

नेपालको जनगणना २०६८ सालका अनुसार नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २१ लाख ५४ हजार तीन थियो । तर बढ्दो औसत आयु र घट्दो जन्मदरका कारण तीनदेखि तीन दशमलव पाँच प्रतिशतसम्म ज्येष्ठ नागरिकको सङ्ख्या बढेको अध्ययनले देखाएको छ ।

विसं २०७५ कात्तिक मसान्तसम्म ज्येष्ठ नागरिकको सङ्ख्या २५ देखि २८ लाखसम्म भएको प्रक्षेपण गरिएको छ । देशभर ६४ जिल्लामा १४१ वृद्धाश्रम छन् । ती वृद्धाश्रममा एक हजार ५७७ जना रहेका छन् । त्यसमध्ये महिला बढी रहेका छन् । महिला ९६५ र पुरुष ६१२ रहेका छन् । दुई वटाबाहेक सबै वृद्धाश्रमका आफ्नै भवन छन् । छ वटा स्याहार केन्द्र भाडामा सञ्चालन भएका छन् भने नौ वटा दिवा सेवा केन्द्रका आफ्नै भवन रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here