काठमाडौँ, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गरेका छन् ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी लिखित मन्तव्य राख्दै उनले पार्टीको जारी महासमितिको बैठकपश्चात् पार्टी सङ्गठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।
“पदयात्रा कार्यक्रम सर्वत्र सञ्चालन गर्नुपर्छ । कम्युनिष्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्छ । हाम्रा सदस्यलाई वैचारिक र साङ्गठनिक प्रशिक्षण दिनुपर्छ, कम्युनिष्टले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवाद कुन सही र श्रेष्ठ हो भन्ने विषयमा बहस सर्वत्र चलाउनुपर्छ”, उनको मन्तव्यमा उल्लेख गरिएको छ ।
उनले अभियानअन्तर्गत विसं २०७५ पुस १६ गतेदेखि वर्षभरि गर्ने विभिन्न जागरण अभियान गर्नुपर्ने र विसं २०७५ पुस १६ देखि विसं २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र साङ्गठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ चलाउने सुझाव पेश गरेका छन् ।
त्यस्तै विसं २०७६ असोज मसान्तसम्म ‘क्रियाशील सदस्यता वितरण र नवीकरण’ सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने, विसं २०७६ मङ्सिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा÷ गाउँपालिका, नगर÷उपमहानगर÷महानगरपालिका अधिवेशन सम्पन्न गर्ने र विसं २०७६ पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र÷प्रतिनिधिसभा एवं निर्वाचन क्षेत्र÷जिल्ला अधिवेशन सम्पन्न गर्ने तालिकामा उल्लेख छ ।
विसं २०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने, २०७६ फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने, विसं २०७६ चैतबाट विसं २०७७ असोज मसान्तसम्म नवनिर्वाचित सबै तहका समितिको वैचारिक तथा सङ्गठनात्मक प्रशिक्षक प्रशिक्षण तालीम सञ्चालन गर्ने नेता पौडेलको सुझाव छ ।


















