-हुकुमबहादुर सिंह
अहिले नेपाली कम्युनिष्ट आन्दोलनमा दुई विपरीत अवरसवादी लहरहरू नेकपाकै नाममा जबरजस्त रूपले अगाडि आएका छन् । ती दुई लहरहरूमा प्रथम ओली–दाहालको ख्रुश्चेभको संशोधनवादी सिद्धान्तको ओकालत गर्ने र त्यसलाई नेपालमा मदनभण्डारीको जनताको बहुदलीय जनवाद(जबज)को संशोधनवादी लाइनलाई कार्यान्वयन गर्ने लहर र दोस्रो चन्द–विश्वकर्माको ‘वामपन्थी’ संकीर्णतावादी लहर । पहिलो लहर जसले आफूलाई डब्बल नेकपा भन्ने गर्दछन् उनीहरूको नेतृत्वमा सरकार छ । उनीहरूले आफूलाई माक्र्सवादी–लेनिनवादी हौ भन्ने गर्दछन् तर उनीहरूको लागि नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्त माक्र्सवादी–लेनिनवादी होइन मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) हो भनेर भन्दछन । के स्पष्ट हो भने मदनभण्डारीको जनताको बहुदलीय जनवाद (जबज) भनेको माक्र्सवाद–लेनिनवादका विरुद्ध अगाडि आएको ख्रुश्चेभको संशोधनवादी सिद्धान्त हो । त्यसैले ख्रुश्चेभको संशोधनवादी सिद्धान्त मान्नेहरू माक्र्सवाद विरोधी हुन कम्युनिष्ट होइनन् । त्यसकारण अहिलेको यो सरकार पनि कम्युनिष्ट सरकार होइन । त्यसका हरेक कृयाकलापले कम्युनिष्टलाई नेपालमा जनताको नजरमा बदनाम गराउनका लागि गठित सरकार हो भन्ने सन्देश दिएको छ । उनीहरूले पार्टीको नामसित कम्युनिष्ट पदावली जोडेका छन् तर सँगसँगै साम्राज्यवाद र विस्तारवादका अगाडि र खासगरी भारतीय विस्तारवादका अगाडि आत्मसमर्पण गरेर संसदीय राजनीतिको अभ्यास गरिरहेका छन् । एकातिर यस्ता कम्युनिष्टको सरकारको लहर छ भने अर्कोतिर चन्द–विश्वकर्माको नेतृत्वको नेकपाले आफ्नो पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो भन्ने र बलप्रयोगको आवश्यकताबारे जोड पनि दिने गर्दछन् । त्यसै अनुसार आफ्ना क्रियाकलापहरूलाई अगाडि बढाएका छन् । यसरी एकथरि जनताको नजरमा ओली–दाहालको डब्बल नेकपा कम्युनिष्ट हो भन्ने छ भने अर्कोतिर २०५२ सालदेखिको माओवादी आन्दोलनको विरासत चन्द–विश्वकर्माको नेकपा हो भन्ने लहर पनि छ । सिद्धान्त, विचार, राजनीति र कार्यदिशाको हिसाबले यी दुवै सही मानेमा कम्युनिष्ट होइनन् र माओवादी त हु“दै होइनन् । किनभने पहिलोले त माक्र्सवाद–लेनिनवाद छाडिसकेको छ दोस्रोले पनि माओवादलाई छाडेको छ र माक्र्सवादलाई पनि अहिले अवस्थामा काफी छैन, त्यसमा विकास (संशोधनं) गर्ने भनेर माक्र्सवादका केही आधारभूत मूल्य मान्यतामा फेरबदल गर्ने प्रयास गरेको छ ।
यसरी चन्द र विश्वकर्मा नेतृत्वको नेकपामा सैद्धान्तिक हिसाबले काफी विचलनहरू आएका छन् । प्रथम यसले उत्तर साम्राज्यवाद अर्थात साम्राज्यवादको अन्त्य भयो अब विश्वमा साम्राज्यवादको अस्तित्व छैन भनेर साम्राज्यवादलाई क्रान्तिको निशानाबाट ओझेलमा पार्ने साम्राज्यवाद परस्त चिन्तन राख्ने काम गरेको छ । जब साम्राज्यवादको अस्तित्व छैन भन्छ भने त्यसले अन्तर्राष्ट्रिय स्तरमा प्रधान अन्तरविरोधको बारेमा गलत व्याख्यामा पु¥याउ“छ । साथै राष्ट्रिय राजनीतिमा पनि उनीहरूको जोड नेपाली समाजमा परिवर्तन आयो र परिणाम अन्तरविरोध पनि फेरिए भन्दै माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत मान्यता र नेपाली क्रान्तिको आधारभूत सिद्धान्त र दिशाबाट विमुख भएर नेपाली जनतालाई भ्रम दिने र कार्यकर्तालाई गलत मार्गतर्फ हिंडाउने अनेकौ प्रयास भएका छन् । माक्र्सवाद–लेनिनवाद–माओवाद र वैज्ञानिक समाजवादको चर्को कुरा गर्ने तर व्यवहारमा यसका आधारभूत मान्यताहरूको विरोध गर्नेहरू सारतः वाम खोलभित्रका दक्षिणपन्थीहरू नै हुन । नेपाली जनता अहिले कम्युनिष्ट नामका दलाल पु“जीपति वर्गको हितमा कामगर्नेहरूको सरकारको आतङकका साथै वाम खोलभित्रका दक्षिणपन्थीहरूको भ्रम–आतंक दुवैको सामना गर्नु परेको स्थिति छ । नामधारी कम्युनिष्ट सरकारका विरुद्ध लडने भनेको सारतः साम्राज्यवाद र विस्तारवादका विरुद्ध लडनु हो । सत्ताका लागि लडिने वर्गीय लडाइँ हो । वाम खोलभित्रका दक्षिणपन्थीहरूको भ्रम–आतंकका विरुद्ध लड्ने भनेको उनीहरूका गलत सिद्धान्त, विचार र कार्यदिशाका विरुद्ध भण्डाफोरको लडाइँ हो ।
नेकपा(क्रान्तिकारी माओवादी)को मंसिर १२देखि १७सम्मको केन्द्रीय समितिको बैठकले गम्भीर छलफलकासाथ यो निष्कर्ष निकालेको छ कि वर्तमानमा नेपाली कम्युनिष्ट आन्दोलनमा जुन खालका समस्याहरू देखिएका छन्, ती समस्याहरूको सही समाधानका लागि पार्टीले लिने नीति तथा कार्यक्रम सामान्य प्रकारले अपनाएर पुग्दैन । त्यसवारे विशेष रूपले भूमिका खेल्नु पर्ने आवश्यकता छ । पार्टीको यो निष्कषलार्ई अर्को शब्दमा–अहिलेको अवस्थामा देशको राजनीतिमा एउटा कम्युनिष्ट पार्टीले ज्वारभाटाका विरुद्ध सङघर्ष गर्न तयार हुनुपर्छ भन्ने हो । अहिले एकातिर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद तथा, अर्कोतीर जबरजस्त रूपले अगाडि आएका रूपमा विपरित धारजस्ता देखिने तर सारमा गन्तब्य विन्दु एउटै भएका दुई नेकपा (ओली र दाहाल नेतृत्वको नेकपा र चन्द र विश्वकर्मा नेतृत्वको नेकपा)का गलत नीतिहरूका विरुद्ध सम्झौताहीन सङ्घर्षको नीति अपनाउनु पर्ने दायित्व पार्र्टीका अगाडि छ । देशको वर्तमान राजनीतिक स्थितिमा त्यसप्रकारको भूमिका खेल्ने नेकपा (क्रान्तिकारी माओवादी) एक मात्र पार्टी हो भन्नेमा केन्द्रीय समिति एक मत देखिएको छ । । पार्टी नेतृत्व के मा स्पष्ट छ भने पार्टीको यस्तो सम्झौताहीन सङ्घर्षको नीतिका कारणले पार्टीले चौतर्फी आक्रमण वा एक प्रकारको नाकाबन्दीको स्थितिको सामना गर्नु पर्ने हुन्छ । ओली र दाहाल नेतृत्वको नेकपा र चन्द र विश्वकर्मा नेतृत्वको नेकपाहरू योजनावद्ध प्रकारले हाम्रो पार्टीलाई देशको राजनीतिक दृश्यबाट पुरै सखाप पार्न प्रयत्नशील छन् । यो भनेको हाम्रा अगाडि अत्यन्त कठिन र प्रतिकूल स्थिति उत्पन्न भएको हो । यो कठिन र प्रतिकूल स्थितिलाई सहज र अनुकूलतामा रूपान्तरण गर्न सामान्य रूपले होइन, ज्वारभाटाका विरुद्ध सङ्घर्षको स्पिरिट अपनाएर नै नेपाली सर्वहारावर्गीय क्रान्तिप्रतिको जिम्मेवारीलाई सशक्त र सफलतापूर्वक अगाडि बढाउन सकिनेछ । माओले भन्नु भएकोछ–‘ज्वारभाटाका विरुद्ध जानु माक्र्सवादी–लेनिनवादी सिद्धान्त हो ।’ त्यसप्रकारको सिद्धान्तमा टेकेर क्रान्तिकारी स्पिरिटका आधारमा नै वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनमा उत्पन्न सबै बाधा, विरोध र प्रतिकूल परिस्थितिलाई चिर्दै पार्टी आफ्नो राजनीतिक भूमिकालाई सशक्त रूपले अगाडि बढाउन सफल हुनेछ । singhhukum683@gmail.com


















