काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले इमान्दार ढंगले काम नगर्ने सडक विभागको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले सडक विभागकै कारण काठमाडौंको रोडमा जनताको अपेक्षा अनुसार सुधार आउन नसकेको जनाउँदै स्रोत र साधनको दुरुपयोग भइरहेकोले काठमाडौंको सडक व्यवस्थित नभएको जनाए ।
आइतबार काठमाडौंमा आयोजित रोडस् बोर्ड, नेपालको १६ औं वार्षिक साधारण सभामा उनले आगामी चैत्र भित्र काठमाडौंको सडकलाई व्यवस्थित बनाउने गरी सडक विभाग, रोडस् बोर्ड, नेपाललगायतका संस्थाहरुलाई सरकारले गतिशील बनाइरहेको दावी गरे ।
मन्त्री महासेठले सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरिसकेको जानकारी दिए । मन्त्री महासेठले कानुन र संरचना निर्माणमा धेरै समय दिनु परेकाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको जनाए ।


















