काठमाडौं / जापानले नेपालको परराष्ट्र मन्त्रालयमार्फत् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कामदार आपूर्तिसम्बन्धी औपचारिक प्रस्ताव पठाएको छ ।
जापानले नेपालसहित अन्य ९ देशबाट पनि कामदार लैजान नेपाललाई कामदार आपूर्तिसम्बन्धी औपचारिक प्रस्ताव पठाएको हो ।
एक साताअघि बसेको जापानको मन्त्रिपरिषद् बैठकले चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, नेपाल, थाइल्याण्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजाने निर्णय गरेको ‘जापानटाइम्स’ले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार जापानले नेपालको परराष्ट्र मन्त्रालयमार्फत् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कामदार आपूर्ति गर्ने प्रस्तावको ड्राफ्ट पठाएको हो । ‘उक्त प्रस्ताव हाल छलफलको क्रममा छ, हामीले आवश्यक निर्णय लिएर मात्र त्यसको जवाफ पठाउनेछौं,’ दाहाल भन्छन्, ‘यसबाट जापानले नेपाली कामदार लिन इच्छुक रहेको प्रमाणित भएको छ र यसका लागि छिटो भन्दा छिटो मापदण्ड तोकेर काम गर्नेछौं ।’
नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रम सम्झौता गरेर कामदार जापान पठाउने दाहालले जनाउँदै त्यसका लागि जनवरीको अन्तिमतिर जापानको टोली नेपाल आउने र महत्त्वपूर्ण सम्झौता हुन सक्ने जनाए । ‘यो रातारात हुने काम होइन, केही समय लाग्छ,’ दाहालले भने, ‘हामीले आफ्नो तर्फबाट गृहकार्य गरेपछि मात्र औपचारिक जानकारी गराउनेछौं।’

















