जहाज खरिद प्रकरणमा भ्रष्टाचार गरेको भेटिए राजनीतिबाटै सन्यास लिने पर्यटन मन्त्रीको घोषणा

217

काठमाडौं / वाइडबडी खरिद प्रक्रियामा भ्रष्टाचार भएको चौतर्फी चर्चा चलेपछि पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले भ्रष्टाचार गरेको भेटिए राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन् ।

कांग्रेस नेता तथा सांसद राजन केसीको नेतृत्वमा बनेको संसदको लेखा समितिले छानविन उपसमितिले जहाज खरिद प्रक्रियामा तीन मन्त्री र तीन सचिवको संलग्नता रहेको भन्दै कारवाहीको सिफारिस गरेको छ ।

छानविन समितिले शंकाको घेरामा राख्दै वर्तमान मन्त्री अधिकारीलाई कारवाहीको सिफारिस गरेको छ । छानविन समितिले कारवाहीको सिफारिस गरेलगतै उनले वाइडबडी खरिद प्रकरणमा आफ्नो गल्ति भेटिए जस्तो सुकै कारवाही भोग्न तयार भएको बताएका छन् । ‘जहाज खरिद प्रक्रिया म मन्त्री बन्नुभन्दा अघिकै हो, म मन्त्री बनेको एक महिनाभित्र जहाज आएको थियो’, उनले आफ्नो सफाइमा भने ‘यदि वाइडबढी खरिदमा मेरो गल्ति भेटिए, राजनीतिबाट सन्यास लिएर जोगी बन्छु ।’

छानविन समितिले तीन मन्त्री र तीन सचिवलाई दोषि ठहर गरिरहेका बेला मन्त्री अधिकारीले अख्तियार लगायत छानविन गर्ने निकायलाई आफुले सहयोग गर्ने बताए । ‘जहाज खरिद प्रकरणमा छानविन गर्ने निकायलाई सवै प्रकारको सूचना दिन र सहयोग गर्न तयार छु, यदी मेरो कहिँ कतै सानो गल्ति भेटिए म पदबाट त के राजनीति नै छोड्न तयार छु’, मन्त्री अधिकारीले भने ।

वाइडबडी विमान खरिदमा तीन अर्बभन्दा बढी भ्रष्टाचार भएको संसदीय छानविन समितिले ठहर गरी तीन मन्त्री र तीन सचिवलाई कारवाहीको सिफारिस गरेलगतै वर्तमान पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले भ्रष्टाचार गरेको भेटिए राजनीतिबाटै सन्यास लिने घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here