गृहमन्त्रीमाथि तत्काल ‘उच्चस्तरीय र निष्पक्ष’ छानबिन गर्न माग

2

​काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीसँग जोडिएको पछिल्लो विवाद र सम्पत्तिको स्रोतका सम्बन्धमा उठेका प्रश्नहरूमाथि तत्काल ‘उच्चस्तरीय र निष्पक्ष’ छानबिन गर्न सरकारसँग माग गरेको छ।

​पार्टी प्रवक्ता देवराज चालीसेले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पारदर्शिता र जवाफदेहिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको जनाउँदै छानबिनको माग गरेका हुन्।

कांग्रेसले गृहमन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका व्यक्त गर्दै स्वतन्त्र वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

यो माग कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधार र सुशासनका लागि भएको विज्ञप्तिमा उल्लेख छ। ‘नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति, घटना वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ,’ चालिसेले भनेका छन्।

​पार्टीको अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकले नै मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे सार्वजनिक प्रश्न उठेमा गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरिसकेको स्मरण गराउँदै प्रवक्ता चालीसेले कांग्रेस सधैँ पारदर्शिताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here