काठमाडौं / सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुखमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ । नवनियुक्त प्रमुख अधिकारीले सोमबार बेलुका नै पदभार ग्रहण गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिलीपराज रेग्मीलाई पदबाट हटाएर उनको ठाउँमा गणेश अधिकारीलाई नियुक्त गरेको हो । प्रमुख नियुक्त भएका अधिकारीले अबको तीन वर्ष विभागको नेतृत्व सम्हाल्नेछन् ।
बैठकले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संशोधन गरेर रेग्मीलाई हटाएको हो । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संशोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे ।
रेग्मी सोमबार सुरक्षासम्बन्धी छलफलमा गृहमै थिए । प्रमुख फेर्ने तयारीबारे गृह मन्त्रालयकै अधिकारीहरूलाई समेत जानकारी थिएन । केही महिनायता विभागका प्रमुख रेग्मीलाई हटाएर अधिकारीलाई प्रमुख बनाउन लबिङ भएको थियो ।


















