
श्रीलंकासँगको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा न्युजिल्यान्डले क्लिन स्वीप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा श्रीलंकालाई ११५ रनले पराजित गर्दै न्युजिल्यान्डले सिरिज जितेको हो । ३६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४१।४ ओभरमा सबै विकेटको क्षतिमा २४९ रन मात्रै बनाएको थियो ।
श्रीलंकाका लागि थिसरा परेराले ८० रन बनाएको थियो भने निरोशान डिक्वेल्लाले ४६ र कुशल परेराले ४३ रन बनाए । श्रीलंकालाई सस्तैमा समेट्नका लागि न्युजिल्यान्डका लोकिइ फेगुसनले चार विकेट लिए । त्यस्तै, इश सोधीले तीन विकेट लिए । नेल्सनमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा ३६४ रन बनाएको थियो । न्युजिल्यान्डको विशाल स्कोरमा दुई जना खेलाडीले शतक प्रहार गरेको थियो । रोस टायलरले १३७ रन बनाउँदा हेनरी निकोलसले अविजित १२४ रन बनाउन सफल रह्यो । टायलरले १३१ बलमा ९ चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै, निकोलसले ८० बलमा १२ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान केन विलियम्सनले ५५ रन बनाएका थिए । बलिङतर्फ लासिथ मालिंगाले तीन विकेट लिए ।

















