नेताहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था किन आयो ?

240

–निमकान्त पाण्डे
नेपालका राजनीतिक दलका नेताहरू सत्तामा पुगिसकेपछि उनीहरूले आफूलाई असुरक्षित महसुस गरिरहेका अभिव्यक्ति आउने गरिरहेका छन् । नेताहरूले असुरक्षित महसुस गर्नुका पछाडि उनीहरूको जनविरोधी कार्यशैली नै हो । जनताको पक्षमा र राष्ट्रको हितमा काम गर्ने नेताहरूलाई असुरक्षाको महसुस कदापि हुन सक्दैन । यथार्थमा राजनीति नाफा कमाउन गरिने पेशा वा व्यवसाय कदापि होइन । जसरी प्रजातन्त्रलाई जनताका लागि जनताद्वारा गरिने शासन भनेर चर्चित अमेरिकी राष्ट्रपति अब्राहम लिङकनले परिभाषित गरे, त्यसरी नै प्रजातन्त्रमा राजनीति पनि जनताकै लागि गरिने सेवा हो ।

जनताको मन जितेर नेतृत्वमा पुग्ने राजनीतिक व्यक्तित्वले आफैलाई प्रतिनिधिका रूपमा जिताउने जनतासँग असुरक्षित महसुस गर्नुपर्ने कुनै कारण नै हुँदैन । जनताको प्रतिनिधि सबैभन्दा बढी कतै सुरक्षित हुन्छ भने त्यो जनताकै बीचमा हो । किनभने पछिल्लो समय विश्वभर देखिदै आएको अस्वस्थ राजनीतिमा हतियारबन्द सुरक्षाकर्मीको बीचमा खोजिने सुरक्षा सबैभन्दा खतरनाक सावित हुँदै आएको छ । एउटा राजनीतिक व्यक्तित्व सबैभन्दा बढी कसैबाट असुरक्षित हुन्छ भने त्यो हतियारधारी आफ्नै सुरक्षागार्डबाटै हो ।

छिमेकी मुलुक भारतकी शक्तिशाली महिला नेत्री एवं पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी त्यसको ज्वलन्त उदाहरण हुन् । उनको हत्या उनकै अंगरक्षक सतवन्त सिंह र बियन्ट सिंहले ३१ अक्टोबर १९८४ मा गरेका थिए । नेपालकै कुरा गर्ने हो भने हजारौँ हतियारबन्द सैनिकको बीचमा रहेका राजा वीरेन्द्र र उनको परिवार एकै छिनमा सखाप भयो । हतियार र सुरक्षाकर्मीको बीचमा हुँदा सुरक्षित हुने भए राजा वीरेन्द्रको वंश नै नाश हुने गरी हृदयविदारक घटना हुने थिएन । सुरक्षा घेराभित्रै रहेका भारतीय समाजवादी नेता महात्मा गान्धीको हत्या हुने थिएन । यस्ता धेरै उदाहरण छन्, जसले उच्चतहको हतियारबन्द सुरक्षामा रहेकाहरू सबैभन्दा असुरक्षित रहेको पुष्टि गर्छ ।

माथिका उदाहरण किन पेश गर्नु परेको हो भने नेपालमा जनताको अधिकारका लागि राजनीति गर्छौँ भन्ने कम्युनिस्ट आदर्शका कुरा गर्ने राजनीतिक नेतृत्व अहिले सबैभन्दा बढी आफूलाई असुरक्षित महसुस गर्न थालेको पाइन्छ । हिजो जनताकै बीचबाट उठेको राजनीतिक नेतृत्व आज जनतासँगभन्दा हतियारबन्द सुरक्षाकर्मीका बीचमा बढी सुरक्षित महसुस गर्न थालेको छ र आफ्नो सुरक्षा व्यवस्था चुस्त बनाउनमा ध्यान केन्द्रित गरिरहेको छ । तर आफैलाई मत दिएर शासन व्यवस्था सम्हाल्ने ठाउँसम्म पु¥याउने तीनै जनताले समेत विश्वास नगर्ने वातावरण कसरी बन्दै गइरहेको छ भन्नेतर्फ भने राजनीतिक नेतृत्वले विचार गरेको देखिदैन ।

विशेषगरी अहिले कसैले आफूलाई बढी असुरक्षित महसुस गरिरहेका छन् भने ती राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल तथा गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरू नै हुन् । हिजो जनताको अधिकारका लागि लड्छौँ भन्ने उनीहरू आज जनतासँग भन्दा हतियारबन्द सुरक्षाकर्मीबाट किन बढी सुरक्षित र सहज महसुस गरिरहेका छन् ? सायद यस विषयमा उनीहरूभन्दा बढी जानकार अरु को हुन सक्ला र ? तैपनि उनीहरूले आफैलाई असुरक्षित महसुस गर्ने एउटा मुख्य कारण उनीहरू जनताप्रति इमान्दार हुन नसक्नु नै हो ।
पुँजीवादी व्यवस्थालाई खुल्लारूपमा स्वीकार गरेका मुलुकका सरकारप्रमुख तथा राष्ट्रप्रमुख त आफूलाई सार्वजनिक यातायात वा साइकलमा हिँड्न सहज महसुस गर्छन् भने हाम्रोजस्तो मुलुक जहाँ राजनीतिक नेतृत्व नै जनताको अधिकारको लागि लड्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्छन् उनीहरू जनताप्रति इमान्दार हुने हो भने असुरक्षित महसुस गर्नुपर्ने कारण के छ र ?

अहिलेकै अवस्थामा नेपाल आतंकवाद वा पृथकतावादी गतिविधिको हिसाबले समेत सुरक्षा चुनौतीभित्र छैन, जनताप्रति इमान्दार हुने हो र आफैले गरेका प्रतिबद्धता पूरा गर्दै जाने हो भने जनतामाझ पनि राजनीतिक नेतृत्वप्रति गुनासो गर्ने अवस्था आउँदैन । तर हाम्रो देशका शीर्ष नेताहरूलाई ठूलै सुरक्षा चुनौती भएका मुलुकहरूको भन्दा अझ बढी हतियारबन्द सुरक्षा व्यवस्थाको आवश्यकता परिरहेको छ । यसको मुख्य कारण राजनीतिक नेतृत्वमा हतियारसहितको सुरक्षामा सुरक्षित भइन्छ भन्ने भ्रम सिर्जना हुनु हो ।

हतियारको शक्तिभन्दा जनताको शक्ति धेरै ठूलो हुन्छ भन्ने कुराको उदाहरण हेर्न नेपालीहरूलाई बाहिर जानु पर्दैन । सत्ता र शक्तिको बलमा जनतामाथि लगाम लगाउन खोज्ने राणा शासन, पञ्चायती व्यवस्थादेखि राजतन्त्रलाई समेत सधैका लागि विदा गर्न सक्ने नेपाली जनताको तागतका अगाडि अहिलेका राजनीतिक नेताहरू केही पनि होइनन् । जनताप्रति इमान्दार हुन सके सबैभन्दा बढी सुरक्षा जनताकै बीचमा महसुस गर्न सकिन्छ । सत्ता र शक्तिको आडमा जनतामाथि राज गर्न खोजे र जनताबाट टाढा हुन खोज्ने हो भने त्यसको परिणाम विगतमा पनि निकै नमिठा छन् र भविष्यमा पनि त्यस्तो नहोला भन्ने कुनै ग्यारेन्टी छैन ।

जनताको बलियो सुरक्षाकवचलाई बेवास्ता गर्दै वर्तमान राजनीतिक नेतृत्वले जसरी हतियारयुक्त सुरक्षामा आफूलाई सहज महसुस गरिरहेको छ, यसको नतिजा सोँचेजति सुखद हुनेछैन । भोलि सत्तामा पुग्नका लागि चाहिने जनता नै हुन् । अहिले सत्तामा हुँदा जनतासँग टाढै बस्न मन पराउने नेतृत्वसँग निर्वाचनका बेला कसरी प्रस्तुत हुने भन्ने विषयमा जनता पहिले नै तयारी अवस्थामा रहन्छन् । २१औ शताब्दीका जनतालाई कमजोर ठान्नु र जनतासँग गरेका प्रतिबद्धताबाट भाग्नु भनेको राजनीतिक नेतृत्वका लागि सबैभन्दा ठूलो अभिशाप हो । वर्तमान राजनीतिक नेतृत्वमा यही समस्या देखिदै आएको छ । आफ्नै प्रतिबद्धताबाट पछि हट्ने र जनताप्रति इमान्दार हुन नसकेकै कारण अहिलेको नेतृत्वले आफूलाई बढी असुरक्षित महसुस गरिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सडकमा निस्कँदा सुरक्षाको नाममा देखिने भद्दा नौटंकी होस् वा उनी सहभागी हुने कार्यक्रमहरूमा गरिने चेकजाँच होस् अथवा सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने कार्यकर्ताहरूमाथि हालका दिनहरूमा गृह मन्त्रालयबाट भइरहेको कडाइ नै किन नहोस्, यी सबै गतिविधिहरू जनताबाट भाग्न खोजेका क्रियाकलाप हुन् । यस्ता क्रियाकलापले नेताहरूलाई जनताबाट पक्कै पनि दूरी बढाउन सहयोग पु¥याउनेछन् । यसले निरन्तरता पाइरहे नतिजा अझै नमीठो हुने निश्चित छ । समयमै गल्तीलाई सच्याउने काम नगरे भोलि पछुताएर के नै होला र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here