काठमाडौं / कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरूले सदस्यहरूलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि पार्टी कोषको खर्च कम भएको छ । पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २० लाख मात्रै थपिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
‘हामीले सुरुमा १ करोड खर्चको आकलन गरेका थियौँ । बैठक तीन दिन लम्बिए पनि २० लाख मात्रै बढी खर्च भएको प्रारम्भिक हिसाब छ,’ कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले भने, ‘नेताहरूले व्यक्तिगत रूपमा खाना खुवाउँदा पार्टी कोषको ७० लाख ४० हजारभन्दा बढी जोगिएको छ ।’
सात शीर्ष नेताहरूले निजी खर्चमा हरेक दिन पालैपालो रात्रिभोज गरेका थिए । कांग्रेसले महासमिति सुरु हुनुअघि नै सदस्यहरूलाई बिहानको खाना मात्रै खुवाउने सूचना गरेको थियो । बेलुकाको खानाको व्यवस्था आफैँ गर्नुपर्ने भनिएको थियो । तर, नेताहरूले व्यवस्था गरेपछि सदस्यहरूलाई सजिलो भयो । केही नेताहरूले पार्टीमा प्रभाव र शक्ति देखाउन नेताहरूले व्यक्तिगत खर्चमा खाना खुवाएको भन्दै असन्तुष्टि जनाए, बहिस्कारसमेत गरे । झन्डै एक हजार ६ सय सहभागी बैठक २८ मंसिरमा सुरु भई ६ पुसमा सकिएको थियो । २९ मंसिरदेखि ४ पुससम्म पार्टी प्यालेसमा र ५ पुसदेखि ८ पुससम्म पार्टी कार्यालय सानेपामा बैठक चलेको थियो ।
यी हुन् रात्रिभोज दिने सात नेता
सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन भएको दिन २९ मंसिरमा रात्रिभोज दिएका थिए । देउवापछि व्यक्तिगत खर्चमा नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता गोपालमान श्रेष्ठले पालैपालो सदस्यहरूलाई भोज दिएको जानकारी केसीले दिए ।
के–केमा भयो मुख्य खर्च
कांग्रेस केन्द्रीय कार्यालयले निकालेको प्रारम्भिक खर्च एक करोड २० लाखमा खानामा सबैभन्दा धेरै खर्च भएको छ । खानामा ७० लाखभन्दा बढी खर्च भएको छ । त्यसपछि विधानका मस्यौदा, राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, समग्र आर्थिक नीति, कोषाध्यक्षको आर्थिक प्रतिवेदन छपाइमा बढी खर्च लागेको छ । त्यस्तै, मञ्च सजावट, पार्टी प्यालेसको भाडा, बैठकमा दुईवटा डिजिटल डिस्प्लेका लागि दिनको ८० हजार रुपैयाँ लागेको केसीले जनाए । तर, मोटामोटी खर्च निकाले पनि कुन शीर्षकमा कति खर्च भयो भन्ने पूरै विवरण भने तयार हुन बाँकी रहेको जानकारी केसीले दिए । २९ मंसिरदेखि ४ पुससम्म सिंहदबारअगाडि यलम्बर पार्टी प्यालेसमा उद्घाटन र बन्दसत्रको कार्यक्रम भएको थियो । त्यसपछि ५ देखि ८ पुसमा समापनसम्मको कार्यक्रम केन्द्रीय कार्यालय सानेपामा ग¥यो ।नयाँ पत्रिका


















