मेरा बा र मेरो जन्मदिन

758

-तारा भट्टराई

आज माघ १४ गते मेरो जन्मदिन । यसपालिको जन्मदिनमा बा को बारेमा चर्चा गर्न मन लाग्यो । हरेक बर्ष जति जति माघ महिना नजिकिदै जान्छ त्यति नै बा को सम्झना मनमा तीव्र रुपमा आउँछ । हुनपनि मेरा बालाई मात्र मेरो जन्मदिन कण्ठ छ।

म जन्मेर भुईमा खस्नासाथ पात्रो पल्टाएर टिक मार्क लगाउने , घडि पला , नक्षत्र , प्रहर र तिथी नोट गरेर जन्मकुण्डली बनाउने, न्वारान गरेर नाम राख्ने जÞिम्मेवारी बा ले नै लिनुभएको थियो । म जन्मेको बखत घरमा कसैको नाड़ीमा घड़ी बाँध्ने चलन समेत आइसकेको थिएन र घुमाएर दम दिने घड़ी पनि म ठूली भएपछि मात्र घरमा भित्रेको हो । घड़ी र समय बिना बा ले कसरी मेरो नाम जुराएर चिना बनाउनुभयो भन्ने प्रश्न आजसम्म पनि मेरो मनमा रहेकै छ । कहिले काहिँ जीवनमा सोच्दै नसोचेका कहालीलाग्दा समस्याहरु आईलाग्दा रहेछन भने सायद बा ले चिनाको समय नै नमिलाईदिएर त होईन भन्ने पनि मनमा नलागेको होईन । हुनत जन्मनुको सजाय नै कहिलेकाहिं कठोर भैदिएको पनि हुनसक्छ । तर जे भएपनि सहजरुपमा स्वीकार गर्ने बानी पनि परिसक्यो । अब त सबै कुरा झिनामसिना लाग्छ ।

The true man in your life that is there for you. Your dad may also be your father but your Father may not be Your Dad.Your Dad loves you, comforts you, supports you and helps you. Your Dad is someone that you should be able to respect.

बचपनमा सबैको बासँगको एक किसिमको सुमधुर आत्मीयता जोडिएको हुन्छ । मेरा बा म जन्मनुभन्दा अगाडी नै स्वर्गवासी हुनुभएकोले मैले यस्तो सम्बन्धको अनुभव गर्न पाईन । तर मलाई कुनै गुनासो पनि छैन । आफ्ना बा नभएपनि मामा घरका बा नै मेरा बा हुनुहुन्छ । आखिर सम्बन्ध भनेको त मनसंग जोडिएको अपनत्वबोधक बिषय न हो । चाहे रगतको होस् , मित्रताको वा प्रेमको होस् । मनले मान्ने कुराहरु मात्र न हुन । समाजले बनाएका परिभाषामा जन्मदिने बा/आमाले नै सन्तानको पालनपोषणको जिम्मेवारी लिनुपर्छ भन्ने छ भने कानुनले अर्कै परिभाषा गरेको छ । तर मेरो पालन पोषण र शिक्षादिक्षाको जिम्मेवारी मामाघरका हजुरबा अर्थात बाले नै लिनुभयो र म उहाँकै आंैला समाएर हुर्के बढें । त्यसैले म उहाँलाइ नै बा भनेर सम्बोधन गर्छु । तर सबैभन्दा दुःखको कुरा चाहिँ जब पहिचान र परिचयको कुरा आउँछ अनि बा को नाम छायाँमा पर्छ ।

मेरो जीवनमा पनि धेरैपटक बाको परिचय खोज्ने समाजको चक्रब्यूमा फस्दा फस्दा थाकेका कैयौं अनुभवहरु मसंग छन् । मैले कति राम्रा ठानेका प्रसंगहरु बा को परिचयसँगै पूर्णविराम लगेका छन् । कहिल्यै सुरुवात नहुने गरी । विशेष गरेर बिहेको प्रसंग चल्दा सबै चाँजोपाँजो मिलिराखेको बेलामा मेरा बा छैनन् मामा घरका बा नै बा हुन भन्ने कुरा खुलेपछि कथा अर्कै रुपमा मोडिन पुग्थ्यो । मेरो कोमल मन पनि अनेक प्रश्नै प्रश्नहरुकामाझ भक्कानिएर रुन्थ्यो । प्रश्नको तीरले मुटुमा बिझ्थ्यो मलाई । अनि भित्रभित्रै रन्थें म ।

                                                                          (बा, म  र सानो बा )

अहिले म अमेरिकामा छु र म समुदायमा दैनिक तीनसय मानिसहरुसँग घुलमिल गर्छु । तर यिनले मलाई तेरो घर कहाँ हो ? के थरी ? मामा घर कहाँ हो ?, बिहे भएको छ कि छैन ? कति छोराछोरी छन ? सासु शसुराकाबारेमा वा माईती कहाँ छन् ? के पेशा गर्छन ? भनेर न चासो राखे न त म कहाँ र को सँग बस्छु भन्ने बिषय सम्बन्धि नै कहिल्यै चियो चर्चाे निकाले । न कस्को विहे वा ब्रतबन्धमा महँगो वा सस्तो सारी लगाएको भन्ने बारेमा नै चर्चा चल्यो । बरु मैले नै मेरा बा नेपालको पुर्वी जिल्लाको एउटा सानो गाउँमा बस्नुहुन्छ र आफ्नै बारीमा उमारेको अग्र्यानिक खाना खानुहुन्छ भनेर ढुक्कसँग बयान गर्छु । यसरी बा को बयान गर्दा म पाँच–सात मिनेट रोकिन्न पनि । म बा को बारेमा कुरा गर्दा अरुले आफ्नो कुरा सुनेको वा ध्यान दिएको छ कि छैन भन्ने communication  को आधारभूत नियमलाई पनि ख्याल राख्दिन ।

अरुहरुलाई जस्तै गरी मलाई पनि बा ले गरेको माया, पिटेको पिटाइ ,घोकाएका गीताका श्लोकहरु, सिकाएका कुराहरु मात्र सम्झनामा छन् । बा को डरले हातमा चप्पल बोकेर गुरुरु कुद्दथेँ म । समग्रमा बा नै मेरो जीवनको पहिलो गुरु हुनुहुन्थ्यो, उहाँबाट मैले असंख्य कुराहरू सिकेँ । उहाँ अठार पुराण , रामायण, महाभारत र नीतिशास्त्रका कुरा गरेर नैतिकताको पाठ बुझाउन खोज्नुहुन्थ्यो । तर किन समाजलाई म प्रति यस बिषयले फरक सोच्न बाध्य पारेको हो ? मलाई कहिल्यै थाहा भएन ।

मेरा बा कविता लेख्ने ,राजनीति गर्ने वा कुनै ख्याति प्राप्त व्यक्ति हुनुहुन्न र समाजमा नाम पनि नहोला, तर जति नाम छ उहाँको त्यो नै काफि छ । बा आफ्नो खेती पाती गर्ने र बचेको समय जप,पुजा–आजा, भागवत पाठ र पण्डित्याईमा लगाउनुहुन्छ । बाको पाखो बारी, गैरीखेत , अलैंची बारी , गोठमा गाइ र पुरानो खरले छाएको घर छ । बा को जीवनमा कुनै ऋणको ब्याज स्याज पनि छैन । गैरी खेतका गह्राहरु बाले आफ्नै हातले नै बनाउनुभएको हो । सयौंपटक बर्खे भेलले बगायो तर बाले बनाउन छोड्नु भएन । धेरैपटक बारीका मकैमा कालिपोके लाग्दा पनि बा ले कहिल्यै हार खानु भएन ।

मेरा बा हरेकदिन मुस्कुराउँनु हुन्छ र उहाँलाई मुस्कुराउन उत्प्रेरित गर्ने चिजहरु धेरै छन् ।  उहाँ प्रायः कपड़ा सियोले आफैं टालेरै लगाउनुहुन्छ बहुराष्ट्रीय कम्पनीको ब्राण्डको पनि उहाँलाई चिन्ता छैन । कहिले काहिँ छोराछोरीले नयाँ कोट किनिदिँदा पनि पुरानो कोटलाई नै बढ़ी प्रेम दर्शाउनु हुन्छ र वल्टाई पल्टाई हेर्नुहुन्छ । कोट लगाएका पुराना दिन सम्झेर मख्ख पर्नुहुन्छ । उहाँलाई छोराछोरी बोर्डिङ्ग स्कूल पढाउने, शहर वा विदेश पठाउने कहिल्यै चिन्ता भएन, बरु उहाँको चाहना सबै छोराहरुले संस्कृत पढुन् र पण्डित बनुन् भन्ने थियो । अनि छोरीले स्कुल पढ्नु पर्दैन र राम्रो घर धन्दा गर्न , गुणन र भाग गर्न सिके पुग्छ भन्नुहुन्थ्यो । शहर बजारमा महल ठड्याउने पनि कहिल्यै चासो लिनु भएन । बरु बा सबै छोराछोरी बिहान सबेरै उठून् र उहाँजस्तै अगेनामा बसेर आफ्नोबाहेक अरूको पनि चिन्ता गरुन् भन्ने ठान्नुहुन्छ ।

गाउँलेहरुले आफ्नै प्रयासमा बिजुली

गाउँलेहरुले आफ्नै प्रयासमा बिजुली बाले भन्ने थाहा पाएपछि मैले बालाई भात पकाउन र पानी तताउन आगो फुक्ने झण्झट नहोस भनेर राईस कुकर र पानी तताउने केट्ली किन्ने प्रस्ताव गरें । बा ले मलाई यस्ता विकासे चिजहरुको भर पनि हुँदैन र आगोमा पकाएजस्तो मिठो पनि हुँदैन, त्यसैले मलाई चाहिंदैन भन्नुभयो ।

मेरा बाले तराईको फाँट पनि देख्नुभएको छ र शहर बजारका महल पनि देख्नुभएको छ । भारतका थुप्रै तीर्थस्थल जाँदा बाटोमा पर्ने दृश्यहरु फोटोखिचे जसरी उहाँको दिमागमा छन् । प्रसङ्ग आउनासाथ उहाँ बिस्तारमा बयान गर्न थाल्नुहुन्छ ।
बालाई पिज्जा, पास्ता , बर्गर र मःमको पनि कहिल्यै चिन्ता भएन । लसुन, प्याजÞ र गोल्भेडा नहालेको साकाहारी खाना पूरी , पूवा , उसिनेका आलु , पिंडालु वा सख्खरखण्ड एकछाक मात्र भए हुन्छ र आजसम्म एउटा सिटामोल पनि उहाँको मुखमा परेको छैन ।

उहाँ आफैँले कपासले छापेर बनाएको सिरक ओडेर राडीमा सुत्नुहुन्छ र दुईमिनेटमै गहिरो निन्द्रामा निदाउनु हुन्छ । मैले भर्खरै संसारकोे सबैभन्दा ठूलो भनिएको न्यूयोर्क शहरको बीचमा लाखौं डलर खर्चेर किनेको अपार्टमेण्टमा चाहिने र संसारमा उपलब्ध भएजति सबै सुविधा छन् । तर दुर्भाग्य हातमा रहेको एप्पलको आर्ईफोनमा डाउनलोड गरेका Credit Karma भन्ने एप्समा कहिलेकाहिँ आँखा परिहाल्यो भने तिर्नुपर्ने ऋणको भारी देखेर रातभर निन्द्रा लाग्दैन । न मैले बालाई कहिल्यै निन्द्रा नपरेको कुरा खुलस्त भन्न सकें, न केहि बर्ष अगाडि मेरो सम्बन्धमा परेको दुर्घटनाबारे मझेरिमा अगाडि बसेर निर्धक्कसँग रुँदै बालाई सुनाउन सकें, न त भर्खरै झाँगिदै गरेको मेरो नयाँ प्रेम प्रसङ्गका बारेमा नै सुनाउने आँट गर्न सकेको छु । सायद चिनाको समय नमिलेर होला म एक्लै रोएँ , ढोका लगाएर मुटु थिचेर निर्धक्क रोएँ र हल्का भएँ । अनि आँशु पुछेर आफैं सम्हालिएँ । तर बालाई भनिन ।

म चालीस कटिसक्दा मेरा बा नै मेरो जीवनका सबैभन्दा महान व्यक्ति हुनुहुन्छ । मेरो जन्मदिनमा बालाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु । अनि बा को जस्तै गरी मेरो मन , बुद्धि, चित्त, र आत्माको स्तर पनि स्वस्थ , शान्त , अनुशासित र संयमित बनाउन सकुँ भन्ने मेरो चाहाना छ । यसपटकलाई यत्ति !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here