टिपर व्यवसायी आन्दोलनमा उत्रिए ! टिपर तेस्र्याएर राजमार्ग पूरै ढाकिदिए,राजमार्ग तनावग्रस्त

160

विराटनगर / पूर्वाञ्चल टिपर व्यवसायी संघले आह्वान गरेको आन्दोलनका कारण कोसी राजमार्ग तनावग्रस्त बनेको छ । आन्दोलनरत व्यवसायीले आयोजना गरेको टिपर र्‍यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि स्थिति तनावग्रस्त बन्नु पुगेको हो ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको खोर्सानेबाट शुक्रबार आयोजना गरिएको र्‍याली कोसी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको सिमानामा पुगेपछि प्रहरीले रोकिराखेको छ ।

साढे १२ बजे उक्त स्थानमा पुगेको तीन सय टिपरसहितको ¥यालीलाई प्रहरीले बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको सिमानामा रहेको ढाटमा आइपुगेपछि अघि बढ्न दिइएको छैन ।

अगाडि बढ्न खोजिरहेका टिपरलाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सीको स्थिति उत्पन्न भयो । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नारावाजी नै गरिरहेका छन् । राजमार्गमा टिपर तेस्र्याएर चालकले आन्दोलन सुरु गरेपछि अहिले कोसी राजमार्ग अवरुद्ध बनेको छ । र्‍यालीमा सहभागी टिपरले ६ लेन सडक रहेको राजमार्ग पूरै ढाकेपछि सवारी आवागमन ठप्प बनेको हो । उक्त राजमार्गमा अहिले कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

गत सोमबार सोमबार बिहान मोरङको सुन्दरपुरहरैंचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । त्यसपछि आक्रोशित स्थानीयले सातवटा टिपरमाथि आगजनी गरेका थिए ।

उक्त घटनाको विरुद्धमा टिपर व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन अन्तर्गत टिपर व्यवसायीले शुक्रबार खोर्सानेबाट विराटनगरको रोडशेष चौकसम्म टिपर र्‍यालीको आयोजना गरे ।

गत सोमबार सुन्दरहरैंचामा भएको घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले करिब १० घण्टा निषेधाज्ञा नै जारी गरेको थियो । घटनाको विरोधमा उत्रिएका स्थानीय बालिकाको शव दिनभरी सडकमा राखेर प्रदर्शन गर्नुका साथै सातवटा टिपरमा आगजनी गरेका थिए ।

मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले एकै पटक ठूलो संख्यामा टिपरलाई विराटनगर बजार प्रवेष गर्न दिँदा स्थिति खराब हुने भएपछि टिपर र्‍यालीलाई बीचमै रोकिएको जानकारी दिए । उनले आन्दोलनमा रहेका टिपरका चालक र व्यवसायीलाई सम्झाइबुझाइ गरिरहेको जनाएका छन् ।- अन्नपूर्ण पोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here