काठमाडौं / पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा साइबर अपराध बढेर गएको छ । नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो ।
महानगरीय अपराध महाशाखाले चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी दर्ता भएका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा प¥यो भनेर रु एक करोडसम्म ठगी गरेको उजुरी महाशाखामा परेको जनाएको छ ।
महाशाखाका अनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये १५ देखि २५ वर्षसम्मका युवा धेरै साइबर अपराधमा लाग्ने गरेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंह मानिसले अनावश्यक रूपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोष्ट गरेका कारण साइबर अपराध बढेर गएको जानकारी दिनुभयो ।
साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । महाशाखाले साइबर अपराधमा ९२६ उजुरी दर्ता भए पनि ४० विरुद्ध मुद्दा चलाएको छ । जसमध्ये सामाजिक सञ्जालमार्फत १७, अर्का नाममा रहेको फेसबुक, ट्वीटर ह्याकिङ गर्ने छ, जथाभावी एसएमएस गर्ने नौ, युट्युव जे पायो त्यही पोष्ट गर्ने तीन र नक्कली कम्पनी बनाएर अरुको आर्थिक खातामा जालसाजी गर्ने पाँचविरुद्ध मुद्दा दर्ता भएको छ ।
नेपाल प्रहरीले पछिल्लो समय साइबर अपराधका घटनामा वृद्धि भएपछि साइबर ब्यूरोसमेत स्थापना गरेको छ । गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयबाट जारी गर्नुभएको गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको दश बुँदे प्राथमिकताका आधारमा प्रहरीले ब्यूरो स्थापना गरेको हो ।