काठमाडौं / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएला प्रकरणमा जारी वक्तव्य राजनीतिक भएको जनाउदै स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न राष्ट्रमा बाहिर कसैबाट हस्तक्षेप नहोस् भन्ने आसय रहेको स्पष्ट पारे ।
भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको जनाएका छन् । पार्टी सचिवालयले विज्ञप्तिको स्प्रिट अनुसार वक्तव्य जारी गरिसकेकाे भन्दै उनले व्यक्तिको भनाइको अर्थ नहुने टिप्पणी गरे । ‘पछि परराष्ट्रबाट जारी वक्तव्य त्यही स्पिरिटमा थियो । प्रधानमन्त्री समेत उपस्थित सचिवालयको बैठकले हस्तक्षेपको विरोधमा वक्तव्य जारी गरिसकेकाले व्यक्तिको भनाइले केही अर्थ राख्दैन,’ प्रचण्डले भने ।
बिहीवार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले बोली चिप्लिए या अरू कसैले फसाएर यसाे नगरेकाे जनाए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित अमेरिकी राजदूतसँगको भेटमा प्रचण्डको शब्द चिप्लिएको जनाएको समचार सार्वजनिक भएको थियो ।
‘हिजो प्रधानमन्त्रीले कुन सन्दर्भमा कसरी भन्नुभयो आफैंले पत्रिका हेरको छैन, प्रमले त्यसो भन्नुभयो जस्तो लाग्दैन,’ प्रचण्डले भने ।


















