रौतहट / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश २ सरकारको गठबन्धन कुनै पनि बेला टुट्न सक्ने जनाएका छन् ।
सातौं महिला साइकल दौड प्रतियोगिता कार्यक्रममा बोल्दै नेता नेपालले राजपा र फोरम गठबन्धनको सरकारको अंकगणित टुटेर प्रदेश २ नयाँ सरकार बन्न सक्ने सम्भावना रहेको जनाए ।
केन्द्रसहित ६ वटा प्रदेशमा नेकपाको सरकार रहेको र प्रदेश २ संसद्मा पनि सबैभन्दा ठूलो पार्टी नेकपा नै भएको जनाउदै उनले प्रदेश २ मा पनि नेकपाको नेतृत्वमा सरकार गठन हुने सम्भावना इंगित गरेका छन्। उनले भने, ‘मधेसी दलको अंकगणित प्रदेश २ मा कुनै पनि बेला टुट्न सक्छ, राजनीतिक गणितको आधारमा बनेको सरकारको कुनै भर हुँदैन।’
साथै उनले देशमा बढ्दो भ्रष्टाचार तत्काल नियन्त्रण गर्नुपर्ने जनाउदै वर्तमान सरकारले बहुमतको घमण्ड नगरी भ्रष्टाचार, मूल्यवृद्धिजस्ता गैरजिम्मेवार प्रवृत्ति तुरुन्त रोक्नुपर्ने बेला आएको उनले बताए। प्रदेश २ सरकारलाई जनहितमा काम गर्न पनि उनले आग्रह गरे।