एचआईभी रोगको उपचारमा मौरीको प्रयोग

184

मौरीको उपयोगिता हामी मध्ये धेरैलाई यसबाट आउने महजस्तो स्वादिलो, पोषिलो खानेकुरा भन्ने मात्र लाग्न सक्छ । तर यहाँ मौरीको विष पनि काम लाग्ने आश्चर्यचकित पार्ने वैज्ञानिकहरुको खोजबाट पत्ता लागेको छ । हो, मौरीको विष पनि मानिसका लागि अत्यन्तै काम लाग्ने भएको खुलासा भएको हो ।

वैज्ञानिकहरुले पत्ता लगाएका छन्– मौरीको विष एचआईभी र क्यान्सर जस्ता अत्यन्तै भयंकर, डरलाग्दा रोगको उपचारमा प्रभावकारी हुन सक्छ ।

हो, मौरीको विषमा पाइने विषालु तत्त्व मिलेटिन (Melittin)ले कुनै क्षति नर्पुयाइ एचआइभीको भाइरसलाई नष्ट पारिदिन सक्छ । लामो समयको अनुसन्धानपछि मिलेटिनमा एचआइभी र अन्य भाइरसलाई नष्ट गर्ने खुबी रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

मौरीको विषमा पाइने त्यो विषालु तत्व मिलेटिनले चाहिँ एचआइभीको भाइरसलाई रक्षा गरेर बसिरहेको त्यो बाहिरी सुरक्षा कवजमा नै प्वाल पारिदिन्छ र भित्र छिरेर त्यसलाई ध्वस्त बनाइदिने गर्छ । यो मिलेटिनको मात्रा पर्याप्त हुने हो भने त्यसले एचआइभीको कोषलाई मनग्गे क्षति पुर्याउन सक्छ ।

यो कुराको अध्ययन गर्न अनुसन्धानकर्ताहरुले मिलेटिन विषलाई भाइरससम्म पुर्याउन मिलेटिन घोलिएको विशेष खालका सुक्ष्म कणहरु (special nanoparticles) प्रयोग गरेर हेरेको जनाइएको छ । विष बोकेका ती सुक्ष्मकणहरु स्वस्थ कोषहरुलाई केही बिगार नगर्ने तर एचआइभीका कोषहरुलाई चाहिँ आक्रमण गर्ने गरी बनाइएका थिए ।

अहिलेसम्म बनेको अधिकांश एचआइभीप्रतिरोधी औषधीहरुले मुख्यतः एआइभीको फैलिन सक्ने क्षमतालाई कमजोर पार्ने अथवा त्यसलाई फैलिनबाट रोक्ने कुरामा बढी केन्द्रीत छ । त्यसबाहेक, अहिलेसम्मका एचआइभीप्रतिरोधी औषधीहरुले प्रारम्भिक अवस्थाका एचआइभीलाई पहिचान गर्न र त्यसलाई रोकथाम गर्न सक्दैन । औषधीहरुको यो कमजोरीको फाइदा उठाउँदै एचआइभीले त्यस वातावरणको अनुकूलतामा आफूलाई ढाल्छ र व्यापक रुपमा फैलिने कोशिश गर्छ ।

मिलेटिनले चाहिँ एचआइभीको भित्री संरचनामा आक्रमण गर्छ र त्यो संक्रमण फैलिनभुन्दा पहिल्यै त्यसलाई मारिदिन्छ । मिलेटिनले एचआइभीको त्यो दुई तहको सुरक्षा कवचलाई ध्वस्त पारिदिन्छ । ठीक यस्तै खालको दुई तहवाला सुरक्षा कवच हेपाटाइटिस बी र हेपाटाइटीस सीको भाइरसको पनि हुन्छ । मौरीको विषमा पाइने मिलेटिन त्यस्ता भाइरसका विरुद्ध पनि प्रभावकारी हुन सक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् र त्यो दिशातर्फ पनि अनुसन्धानलाई केन्द्रीत गरेका छन् ।

मिलेटिनको एचआइभीप्रतिरोधी यो विशिष्ट गुणका कारण वैज्ञानिकहरु एचआइभीको भयानक संक्रमणको व्यापक फैलिने दरलाई रोक्न र घटाउन योनीमा प्रयोग गर्न मिल्ने जेल बनाउन सकिन्छ कि भन्नेतर्फ अध्ययन गरिरहेका छन् । साथसाथै, औषधीलाई प्रतिरोध गर्ने खालका एचआइभीका विरुद्ध पनि यस मिलेटिनबाट उपचार गर्न सकिन्छ कि भन्ने खोज पनि भइरहेको छ । विशेषतः यस्ता औषधीलाई सोझै नसाको माध्यमबाट दिने र रगतमा भएका एचआइभीको संक्रमणलाई नष्ट गर्ने सम्भावनाको बारेमा पनि वैज्ञानिकहरुले अध्ययन अनुसन्धान गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here