विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार ढंगले साढे ५ वर्ष कार्यकाल रहेको छ भनेर बोल्दै हिँड्नु गलत भएको जनाउदै त्यसो नगर्न चेतावनी दिएका छन् ।
विराटनगरमा सोमबार बिहान पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले सभापतिले १४ औं महाधिवेशनलाई पर धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
कांग्रेसको १४ औं महाधिवेशनबाट विधानअनुसार पार्टी अगाडि नबढेसम्म कांग्रेस कमजोर बनिरहने जनाए । उनले भने, ‘वर्तमान केन्द्रीय समितिको कार्यकाल ३ वर्ष भइसक्यो, विधान विपरीत सभापतिज्यूले साढे ५ वर्ष कार्यकाल रहेको भनेर बोल्नुभएको छ।
सभापतिले गैरजिम्मेवार ढंगले साढे ५ वर्ष कार्यकाल रहेको छ भनेर के कारणले बोल्नुभयो ?,’ नेता कोइरालाले भने, ‘कांग्रेसको १४ औं महाधिवेशनबाट विधानअनुसार जबसम्म अगाडि बढ्न सक्दैन तबसम्म कांग्रेस कमजोर बनिरहन्छ।’
नेता कोइरालाले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान परिमार्जन गर्ने भनेर जनाएको प्रतिबद्धताविपरीत विधान पास गरेको भन्दै आफ्नो असहमति रहेको बताए। कांग्रेसको संगठनमा समावेशीको नाममा पटक–पटक एउटै व्यक्तिलाई ३ पटक ४ पटक लड्न दिने हो भने नयाँ नेता नआउने भन्दै आफूहरूको यो एजेण्डा १४ औं महाधिवेशनसम्म लैजाने उनको भनाइ थियो।
‘महासमिति सदस्यहरुले महासमिति बैठकमा राखेको कुरा भनेको तलैबाट चुनाव लडेर आउनुपर्छ भन्ने थियो। त्यसलाई सभापति र वरिष्ठ नेताज्यूले विधान परिमार्जन गर्छौं भनेर महासमिति बैठकमा भन्नुभएको थियो,’ नेता कोइरालाले भने, ‘तर, अहिले पार्टीले बहुमत र अल्पमतको आधारमा जसरी पास गर्यो, म काठमाडौंमा नभएको कारण नोट अफ डिसेन्ट लेख्न सकिने त्यहाँ भएको भए म पनि नोट अफ डिसेन्ट लेख्थें।’ उनले पार्टीमा भएका गलत क्रियाकलापको विरोधमा १४ औं महाधिवेशनसम्म जाने पनि बताए। ‘कांग्रेसभित्र भएका गलत राजनीतिक प्रस्तावलाई परिवर्तन गर्नुपर्छ भनेर हामी कांग्रेसको तलैसम्म जान्छौं। यो एजेण्डा सकिएको छैन,’ उनले भने, ‘बहुमतको आधारमा विधान पारित भएपनि हाम्रा असहमतिका कुरालाई १४ औं महाधिवेशनसम्म लान्छौं।’
नेपाली कांग्रेस कमजोर छ भनेको विषयमा आफूमाथि सभापतिबाट आक्रोश व्यक्त हुनुमा आफ्नो कुनै प्रतिक्रिया नरहेको कोइरालाले बताए। ‘नेपाली कांग्रेस कमजोर छ, नेपाली कांग्रेसको संगठन शून्य बराबर छ, चुनावमा हार्नु ठूलो कुरा होइन, चुनावमा हारको जिम्मा नेतृत्वले लिनुपर्छ भन्दा कारबाहीको धम्की आउँछ भने मेरो भन्नु केही छैन’, नेता कोइरालाले भने, ‘कांग्रेस कसरी मजबुद बनाउने संगठन कसरी बलियो बनाउने भन्ने विषयमा बोल्दा कसैलाई चित्त दुख्छ भने त्यसको मसँग उत्तर छैन, किनभने म एउटा राजनीतिक संस्कार बोकेको व्यक्ति हो, त्यो राजनीतिक संस्कार छोड्न सक्दिनँ, सभापतिलाई म सम्मान गर्छु तर जे बोल्नुभएको छ मेरो बारेमा त्यो उहाँको संस्कार हो।’
नेपाली कांग्रेस कोइरालाहरुको मात्रै पार्टी नभएर धेरै कार्यकर्ताहरुको रगतले सिँचित पार्टी भएको जनाउँदै नेता कोइरालाले सभापति देउवाले त्यो कुरा आफूलाई सम्झाइरहनु नपर्ने प्रतिक्रिया पनि दिए।


















