भारत–पाक द्वन्द उत्कर्षमा

173

काठमाडौं / नेपाल छिमेकी देशहरूको भूबनावटको तुलनामा निकै सानो भए पनि अहिलेको अवस्थामा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने शक्ति प्राप्त गरेको मुलुकको हैसियत बन्न पुगेको छ वर्तमान सरकारसँग । केही दिनअघि जम्मु कश्मिरको पुलवामा भारतीय सुरक्षा निकायमाथि हमला हुँदा ४० जना भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएपछि भारत र पाकिस्तानका बीचमा तनाव सुरु भएको छ । भारतले उक्त हमलामा पाकिस्तानको हात भएको दाबीसहित आरोप लगाएपछि दुई मुलुकका बीचमा द्वन्द बढ्ने संकेत देखिन थालेको छ । पाकिस्तानले उक्त घटनामा आफ्नो संलग्नतालाई ठाडै अस्वीकार गर्दै आइरहेको छ ।

पाकिस्तानको अस्वीकारलाई बेवास्ता गर्दै गत मंगलबार भारतीय वायुसेनाका विमानमार्फत ‘लाइन अफ कन्ट्रोल’भित्र प्रवेश गरेर बम आक्रमण गरेपछि दुई मुलुकबीच युद्धको अवस्था देखिएको छ । भारतीय वायुसेनाका जहाजले पाकिस्तानी क्षेत्रमा प्रवेश गरेर बम हमला गरेको दावी स्वयं भारतपक्षबाट भयो । पाकिस्तानले त्यसको जवाफ दिने चेतावनी दिइसकेको छ । दुई मुलुकबीच देखिएको यस्तो द्वन्दको प्रभाव नेपालसम्म पनि पर्ने निश्चित छ । शान्त वातावरणलाई बिथोल्ने प्रयास राजधानी काठमाडौंमै भएको देखियो । पाकिस्तानी दूतावास नजिकै विरोध प्रदर्शन गरिनु र नेपाल भारतको सीमा क्षेत्रमा नेपाली भूभाग प्रयोग गरी पाकिस्तानविरोधी नारा लगाइनुले नेपालको संवेदनशील अवस्थालाई पुष्टि गरेको छ । दुई परमाणु हतियार सम्पन्न मुलुकबीचको खटपटले स्वाभाविक रूपमा नेपाललाई प्रभाव पार्छ नै, त्यसबाहेक कतिपय सामाजिक, सांस्कृतिक तथा अन्य सम्बन्धका कारण पनि यसको प्रभाव नेपालसम्म आइपुग्ने निश्चित छ ।

अर्काेतर्फ हालै मात्र दुई शक्ति राष्ट्र अमेरिका र चीन पनि नेपाल मामिलालाई लिएर एकअर्काको आलोचनामा उत्रिएका छन् । हालै नेपाल भ्रमण गरेका दक्षिण एशिया तथा दक्षिण पूर्वी एशिया मामिलाका अमेरिकी उपसहायक रक्षामन्त्रीले नेपालमा चिनियाँ लगानी नेपालको हितमा हुनुपर्ने अभिव्यक्ति दिएपछि मंगलबार नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति निकाल्दै त्यसको कडा प्रतिवाद गरेको छ । मंगलबार एक सार्वजनिक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत होउ याङ्छीले अमेरिकी अधिकारीको टिप्पणीको कडा आलोचना गरेकी छिन् ।

एकातर्फ सार्कको अध्यक्ष मुलुकसमेत रहेको नेपाल सार्कका सदस्यसमेत रहेका दुई छिमेकी मुलुकको द्वन्दलाई सामना गर्नुपर्ने अवसर प्राप्त अवस्थामा छ भने अर्काेतर्फ विश्व शक्तिराष्ट्रको स्वार्थको केन्द्र पनि नेपाल नै बनिरहेको छ । अमेरिकी अधिकारीको टिप्पणी र चिनियाँ पक्षको प्रतिवादले त्यही कुरालाई पुष्टि गर्छ । पछिल्लो पटक १७ वर्षपछि अमेरिकाले नेपालका परराष्ट्रमन्त्रीलाई निमन्त्रणा गर्नु, अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण बाक्लो हुनु तथा अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिमा नेपालको भूमिका खोजिनुले विश्व राजनीतिमा नेपाल नचाहेर पनि घिसारिन पुगेको छ । त्यसमाथि नेपालमा अर्काे उदाउँदो शक्ति चीनको प्रभाव बढ्नुले पनि नेपाल शक्तिराष्ट्रहरूको शक्ति संघर्षको केन्द्र बन्दै गइरहेको स्पष्ट छ ।

गत शनिबार पाकिस्तानी विदेश मन्त्रीले नेपाली समकक्षीसँग टेलिफोन सम्पर्क गरी नेपालले सार्कमा रचनात्मक भूमिका खेल्नुपर्ने आग्रह गरेका छन् । दुई मुलुककाबीचमा खट्पट भइरहेका बेला अध्यक्ष राष्ट्रका हिसाबले नेपालले सार्कमा रचनात्मक भूमिका खेल्नुपर्ने पाकिस्तानी विदेशमन्त्रीको आग्रहले सार्क क्षेत्रमा नेपालले आफ्नो भूमिकालाई बढाउनु पर्छ भन्ने सन्देश दिन्छ । सार्कको सक्रिय मुलुक भारतले पुलवा हमलामा तथ्य संकलन गरेर कसको संलग्नता छ भन्ने पत्ता लगाउनुको सट्टा जबरजस्ती पाकिस्तानलाई नै दोषी ठहर गर्ने गल्ती यसपटक पनि दोहो¥याएको छ ।

क्षेत्रीय सहयोगका लागि गठन भएको सार्कमार्फत वास्तविकताको खोजी गर्ने अवसर भारतलाई खुल्ला नै छ । यदि यो घटनामा पाकिस्तानको गल्ती छ भन्ने प्रमाण भारतले फेला पार्न नसक्ने कुनै कारण छैन । यदि प्रमाण नै फेला पर्छ भने त्यसलाई सार्क तथा अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चबाट दबाब सिर्जना गर्ने अवसर भारतसँग छँदैछ । त्यसको विपरीत भारतले सार्कलाई भूमिकाविहीन अवस्थामै राख्न खोजिरहेको अवस्थामा पाकिस्तानले सार्कको भूमिका खोज्नु स्वाभाविक देखिन्छ । यदि भारतको दाबी सही हुने हो भने सार्कको सक्रियताले भारतलाई नै सहयोग पु¥याउने अवस्था विद्यमान छ । तर भारतले आफ्नो हैकममात्र प्रदर्शन गर्ने गल्ती गरिरहेको छ । सार्कप्रति भारतले गरिरहेको बेवास्ताले भारतको दाबीलाई कमजोर बनाउने निश्चित छ । तथापि अध्यक्ष मुलुकका हैसियतले नेपालको भूमिका अहिलेको अवस्थामा महत्वपूर्ण छ । सार्कको माध्यमबाट दुई मुलुकबीचको समस्या समाधानका लागि पहल गर्ने कुरामा नेपाल पछि पर्नु हुदैन । दुई मुलुकबीचको टकरावको प्रभाव यस क्षेत्रका अन्य मुलुकमा पनि पर्ने भएकाले क्षेत्रीय हितका लागि गठन भएको सार्कको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि नेपालले पहल गर्न आवश्यक देखिन्छ । पाकिस्तानले सार्कको रचनात्मक भूमिका खोज्नुका पछाडी पनि पाकिस्तान क्षेत्रीय शान्तिका सवालमा प्रतिवद्ध छ भन्ने कुरा देखाउँछ । भारतलाई समेत क्षेत्रीय शान्तिका लागि एकै ठाउँमा ल्याउने भूमिका नेपालले खेल्न सक्नुपर्ने सुझाव कूटनीतिज्ञहरूको पाइएको छ ।

त्यस्तै नेपालको विषयलाई लिएर अमेरिका र चीनबीचको प्रतिस्पर्धाले पनि नेपाललाई अप्ठेरोमा पार्न सक्ने सम्भावना देखिन्छ । नेपालका लागि सबै मित्र राष्ट्रसँगको सम्बन्ध समान हुनुपर्दछ । सामरिक हिसाबले महत्वपूर्ण क्षेत्रमा रहेकाले नेपालप्रति शक्ति राष्ट्रको चासो हुनु स्वाभाविक हो । तर राजनीतिक नेतृत्वले यस्ता विषयमा सुझबुझ देखाउन आवश्यक हुन्छ । छिमेकी एवं सहयोगी मुलुकका हिसाबले चीनसँगको सम्बन्ध हाम्रो लागि निकै महत्वपूर्ण छ, त्यससँगै महत्वपूर्ण दाता मुलुक अमेरिकालाई पनि हामीले चिढाउनु हुँदैन । तर दुवै मुलुकको स्वार्थ नेपालमा देखिएकाले दुवैलाई सन्तुलनमा राखेर अघि बढ्नु नेपालको हितमा देखिन्छ । यदि नेपालको विषयमा शक्तिराष्ट्रबीचमा टकरावको अवस्था सृजना भयो भने त्यसको सबैभन्दा ठूलो असर नेपालले नै भोग्नुपर्ने छ । त्यसैले हाल फरक–फरक परिस्थितिमा नेपालको भूमिका निकै परिपक्व देखिन आवश्यक छ । यसले नै नेपालको भावी बाटो कता मोडिदै छ भन्ने प्रष्ट गर्ने पनि छ ।

शक्ति र प्रभावका हिसाबले नेपाल कमजोर भएपनि सामरिक हिसाबले नेपालको क्षेत्रीय र अन्तर्राष्ट्रिय भूमिका धेरै महत्वपूर्ण र निर्णायक हैसियतमा छ । आफ्नो भूमिकालाई सही ढंगले अघि बढाउन सकेमात्र नेपालको हितमा देखिन्छ । यसतर्फ नेपाल सजग हुन आवश्यक छ । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here