काठमाडौं / नेपाल सरकारको अनुरोधमा राजस्व अनुसन्धान विभाग, नेपालका ५० कर्मचारीहरुका लागि तयार पारिएको ‘राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण’ विषयक पाँच दिने विशेष तालिम भारतको फरीदाबाद स्थित National Academy of Customs, Indirect taxes and Narcotics (NACIN) मा आज देखि सञ्चालन भयो ।
यस तालिम ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो । यस पहलकदमी अन्तर्गत राजस्व अनुसन्धान विभाग, नेपालका कूल ५० कर्मचारीहरुलाई तालिम दिईनेछ । विभागका २५ कर्मचारीको दोश्रो टोलीले सोहि स्थानमा आफ्नो तालिम २०७५ चैत्र ११ गते देखि सुरु गर्नेछन् ।
यस तालिमले राजस्व अनुसन्धान विभागका कर्मचारीहरुको अनुसन्धान तथा छानबिन गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई वैधानिक अर्थव्यवस्थाबाट हुने राजस्व चुहावट नियन्त्रण तथा रोकथाममा थप प्रभावकारी तथा सुसज्जित बनाउन सहयोग गर्नेछ जसबाट राजस्व अनुसन्धान विभागको राष्ट्र निर्माण योगदानमा थप उर्जा मिल्नेछ ।
अप्रत्यक्ष कर संकलन तथा औषधी कानुन प्रवर्तनको क्षेत्रमा NACINभारत सरकारको शीर्ष तालिम संस्था हो । विश्व भन्सार संगठन एसिया/प्रसान्त क्षेत्रका लागि यो संस्था मान्यता प्राप्त क्षेत्रीय तालिम केन्द्रको रुपमा रहेको छ । साथै यस संस्थाले UNEP, UNODC, SAEC जस्ता अन्तराष्ट्रिय संगठनहरुसँग पनि काम गर्दछ । भारतको फरीदाबाद स्थित प्रधान कार्यालयसँग मिलेर NACIN ले १८ आञ्चलिक तथा क्षेत्रीय तालिम संस्था तथा एक विशिष्ट केन्द्र मार्फत आफ्नो सेवा विस्तार गरेको छ ।



















