उद्यमी ढकाल प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव राख्छन्

183

 दैलेख / नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको विकासका निम्ति मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदको ‘निजी क्षेत्रसँगको सहकार्य’ विकासको मोडेल अपनाउन सुझाव दिनुभएको छ । कर्णाली प्रदेशमा ओयोजित दैलेख महोत्सवलाई सम्बोधन गर्दै ढकालले भने– ‘मलेसियाको २० वर्ष यताको चमत्कारिक विकासको मुख्य आधार निजी क्षेत्रसँगको सहकार्य नै रहेको भित्री रहस्य महाथीरले व्यक्त गर्ने गरेका छन् । हामीले पनि विकासमा यसैलाई मोडेलका रुपमा लियौँ भने राष्ट्रिय समृद्धि हाम्रै पालामा सम्भव छ । ’

केही वर्षअघि नेपाल भ्रमणमा आएका मलेसियाली प्रधानमन्त्री मोहम्मदसँगको आफ्नो भेटका क्रममा यति छोटै समयमा आफ्नै हातले मलेसियाको त्यो रुपको विकास कसरी सम्भव भयो भनी गरेको प्रश्नमा उहाँले यसको भित्री रहस्य अरु केही नभएर निजी क्षेत्रसँगको सहकार्य नै रहेको जनाएको ढकालले स्मरण गर्नुभएको थियो ।

ढकालले स्मरण गर्दै चर्चा गर्नुभयो – ‘प्रधानमन्त्री महाथीरले सेवा क्षेत्र, आयोजना एवम् बृहत्तर विकासका हरेक मोडमा निजी क्षेत्रसँगको वास्तविक सहकार्य र ‘कर्पाेरेट ट्याक्स’ को समुचित र पारदर्शी व्यवस्थापन आवश्यक कुरा हुन् भनेर भन्नुभएको थियो ।’

महाथीर मोहम्मदले भनेजस्तै नेपालमा पनि निजी क्षेत्रसँगको सहकार्यका पक्षमा नीति नियम र कानुनहरु रहेका भए पनि सही अर्थमा सहकार्य भने हुन नसकेको उहाँको गुनासो थियो ।

विद्यमान नीति नियममा कुनै खोट छैन, तर पनि सही अर्थमा निजी क्षेत्रसँगको सहकार्य र साझेदारीका लागि सरकारका हरेक संरचनाले निजी क्षेत्रले काम गर्नसक्ने किसिमको वातावरण बनाउन र वास्तविक अर्थमा सघाउन भने नसकेको ढकालको तर्क थियो ।

ढकालले अहिले नेपालमा स्थायी प्रकृतिको सरकार रहेको र राज्यले स्थानीय, प्रादेशिक र संघीय ढाँचाको निर्माण गरिसकेको भन्दै अब राज्यका यी सबै निकायले देश विकासका लागि आआफ्नो संरचनाबाट निजी क्षेत्रलाई कसरी आकर्षित गर्ने भन्ने बारेमा मात्र सोच्न आग्रह गर्नुभयो । गएको वर्ष्दिनमा देशले संघीयताको लागि आवश्यक संरचना र नियम कानुन बनाइसकेकाले अब सबैको ध्यान आर्थिक विकासमा नै केन्द्रित गर्न सकियो भनेमात्र प्रधानमन्त्रीले कल्पना गरेको समृद्ध नेपाल निर्माण सम्भव छ र त्यो हाम्रै पालामा सम्भव हुन्छ– ढकालले दाबी गर्नुभयो ।

स्वदेशमा लगानीको वातावरण सहज बनाउन सकियो र निजी क्षेत्रलाई कामगर्ने उचित वातावरण निर्माण गर्न सकियो भने मात्र विदेशी लगानी भित्रिने हुँदा यो वास्तविकता संघीय एवम् प्रादेशिक सबै सरकार र स्थानीय निकायले बुझ्न आवश्यक रहेको ढकालको तर्क थियो ।

यसरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने काममा कर्णाली प्रदेशको सरकार अन्यत्रको तुलनामा अघि बढोस् भनेर शुभकामना पनि ढकालले सो अवसरमा दिनुभएको थियो ।
कर्णाली प्रदेशको पर्यटकीय, प्राकृतिक एवम् जैविक विविधताको सम्पन्नता संसारकै अलौकिक भएको कुरा त हामी सबैलाई थाहा नै छ, तर अब सम्भावनाको मात्र कुरा गरेर बस्ने बेला यो होइन काम नै थालौँ, त्यसका लागि सरकारको भरपर्दाे आह्वान आवश्यक छ– ढकालले भने ।
यस्ता मेला महोत्सवहरुको उद्देश्य स्थानीय एवम् स्वदेशी उत्पादनहरुको प्रवद्र्धन र प्रचार गर्ने हुनुपर्नेमा अहिले त्यस्तो नभएर विदेशी सामान बेच्ने हाटबजारको जस्तो देखिन थालेको टिप्पणी गर्दै उपाध्यक्ष ढकालले त्यसो नगर्न र स्थानीय उत्पादनकै लागि पनि स्वदेशी र निजी क्षेत्रका लगानीकर्ताहरलाई आकर्षित गर्ने खालको वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गरे ।
चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष समेत रहेका उद्यमी ढकालले काठमाडौँको चन्द्रागिरिजस्तै हरेक प्रदेशमा एकीकृत पर्यटकीय गन्तव्यको विकास गर्नेगरी आफूहरुले योजना बनाएर काम गरिरहेको जानकारी पनि दिए । पर्यटन हाम्रो देशको विकासका लागि अधिक सम्भावनाको क्षेत्र हो उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here