गीत ‘साइँली’ अब फिल्ममा पनि

217

काठमाडौं / आज भन्दा करिब २ वर्ष अगाडि मात्र ‘साइँली’ गीत इन्टरनेटमा रिलिज भएको थियो । हेमन्त रानाको स्वर, हिमाल साउथ र कालीप्रसाद बाँस्कोटाको शब्द रचना रहेको उक्त गीतमा संगीतकार बाँस्कोटाले संगीत दिएका छन् । गीतको भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री मेनुका प्रधानले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई युट्युबमा झण्डै २ करोड पटक हेरिसकिएको छ । गीतमा श्रीमान्(श्रीमतीबीचको वियोगान्त कथा समावेश गरिएको छ ।

चालिस वर्ष कटेसी रमाउने वाचा गर्दै बाध्यताले बैदेशिक रोजगारीमा गएका साइँला उर्फ गौरव र गाउँमा बसेर श्रीमानको प्रतिक्षा गरेर बसेकी साइँली उर्फ मेनुका प्रधानको मार्मिक कथालाई गीतको भिडियोमा निकै मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको थियो । गीतको भावअनुसार निर्माण गरिएको भिडियो फिल्मभन्दा कम थिएन । अब यही गीतको नाम सापटी लिएर बनेको फिल्म ‘साइँली’ चैत १५ मा प्रदर्शन हुने भएको छ । धेरैलाई लाग्नसक्छ गीतझैँ फिल्मले पनि बैदेशिक रोजगारीकै कथा भन्नेछ । तर, फिल्मको कथा गीतभन्दा अगाडिको रहेको निर्देशक रामबाबु गुरुङ बताउँछन् । ‘सार्वजनिक ट्रेलरबाट पनि यो कुरा धेरथोर पुष्टि हुन्छ’, निर्देशक गुरुङका अनुसार, ‘गीत नै आफैंमा फिल्म थियो । फेरि त्यही कथामा फिल्म बनाउन आवश्यक छैन जस्तो लाग्यो। तर, गीतको मर्मभन्दा बाहिर भने गएका छैनौं । गौरव बैदेशिक रोजगारीमा जानुभन्दा अगाडिको कथामा फिल्म केन्द्रित छ ।’

साइँली’ गीतका गायक तथा फिल्मका निर्माता मध्येका एक रानाले फिल्म गीतको भिडियोको प्रिक्वेल रहेको बताए । हालैमात्र पोखरामा पत्रकारसँग भलाकुसारी गर्दै उनले भने— ‘गीतलाई नै आधार बनाएर फिल्म बनाएका हौं । चार मिनेटको भिडियोमा साइँला र साइँलीको कथा भन्न असम्भव थियो । त्यसैले हामीले गीतमा समेट्न सकेको कथा फिल्ममार्फत् भन्न खोजेका छौं ।’ उनले फिल्मले उठाएको कथा आमनेपालीको रहेको पनि जानकारी दिनु भयो । ‘साइँली’ गीतको भिडियोमा अभिनय गरेका अभिनेता गौरवको फिल्ममा पनि प्रमुख भूमिकामा छ । उनको अपोजिटमा गीतको भिडियोमा झैँ मेनुका प्रधान नै छिन् । गौरव यो फिल्मको निर्माता समेत हुन् । उनी गीतभन्दा फिल्म उत्कृष्ट बनेको बताउँछन् । टाइटल क्यारेक्टरमा रहेकी मेनुका भने दर्शकले आफूलाई फरक फरक चरित्रमा देख्न पाउने बताइन् । ‘गीतमा मेरो विगत देखाइएको थिएन, फिल्ममा त्यो सबै छ’, उनले भनिन् ।

यस फिल्ममा प्रमुख भूमिकामा रहेका अभिनेता दयाहाङ राई गीतको भिडियोमा ‘सिम्बोलिक’ रुपमा देखाइएको कथालाई ‘साइँली’ फिल्ममा विस्तृतमा देखाइएको जानकारी दिनु भयो । ‘मिडियोमा श्रीमान्श्री—मतीको वियोगान्त कथालाई मात्र देखाइएको थियो । तर, फिल्ममा त्यो अवस्था कसरी सृजना भयो भन्ने देखाइएको छ’, राईले अगाडि भने – ‘फिल्म हेर्दै गर्दा दर्शकलाई साँचिक्कै अपनत्व महशुस हुन्छ र आफ्नै कथा पर्दामा देख्दा खुसी लाग्नेछ ।’  केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको फिल्ममा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको छ । फिल्ममा पनि चर्चित गीत ‘सुन साइँली’ भने समावेश गरिएको छ । फिल्मको कथा निर्देशक रामबाबु स्वयंको हो । उनी माटो सुहाउँदो फिल्म बनाउन  सिपालु  मानिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here