काठमाडौं / नेपाल मेडिसिटी अस्पताल नेपालको पहिलो र एकमात्र नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्स–NABH मान्यता प्राप्त गर्न सफल भई विश्वस्तरीय अस्पतालहरुको सूचीमा सूचिकृत भएको छ ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा एनएबिएचका प्रमुख कार्यकारी अधिकृत डा. हरिश नद्कमीले नेपाल मेडिसिटी अस्पतालकि प्रबन्ध निर्देशक डा. समता प्रसादलाई नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्सको मान्यता प्रमाणपत्र वितरण गर्नुभएको हो । प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री उपेन्द्र यादव , बालगुरु ब्रम्हज्ञानी आदित्य लगाायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
NABH, इन्टरनेशनल सोसाईटी फर क्वालिटी इन हेल्थ केयर (इस्क्वा) को सदस्य एवं एसियन सोसाईटी फर क्वालिटी इन हेल्थ केयरको कार्यकारी बोर्डमा रहेको छ । इस्क्वाले बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका १२ वटा सदस्य राष्ट्रको एक्रिडिटेसन कार्यक्रम सरह विश्वभरीका स्वास्थ्य संस्थाहरुलाई मान्यता प्रदान गर्दछ । एनएबबिएचले भारतका १७ हजार भन्दा बढी अस्पतालहरु मध्ये हाल सम्म ५९२ वटालाई मात्र NABH मान्यता प्रदान गरेको छ । भारत बाहिर फिलिपिन्स पछि पहिलो पल्ट नेपाललाई यो मान्यता प्राप्त भएको हो ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न अस्पतालको अभावलाई यस मान्यता पश्चात नेपाल मेडिसिटी अस्पतालले पूर्ति गर्ने विश्वासका साथ नेपालीहरुको स्वास्थ्यमा गुणात्मक एवं परिणाममुखी उन्नयनमा यसले सहयोग पु¥याउने आशा गरिएको छ ।

















