काठमाडौं / हावाहुरी प्रभावित सबै बस्तीमा राहत सामग्रीको भने ओइरो लागेको छ । तर, वितरण प्रणाली व्यवस्थित छैन । वास्तविक पीडित राहतबाट विमुख छन् । फेटा–६ स्थित राहत वितरण स्थलमा भेटिएका समाजसेवी नजिवुल्ला अन्सारीले भने, ‘राहतका सामान आएका छन् । तर, वितरण व्यवस्थित छैन । पाउनुपर्ने मान्छेले पाएका छैनन्, नपाउनुपर्नेले कुम्ल्याइरहेका छन् । यस्तै रहने हो भने पीडित झन् पीडित हुने अवस्था छ ।’
विनाशकारी हावाहुरीका कारण बारा र पर्साका दुई हजार घरपरिवार प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । गृहको तथ्यांकअनुसार एक हजार घर भत्किएका छन् भने एक हजारमा आंशिक असर परेको छ । ‘बारामा एक हजार नौ सय घरमा हावाहुरीको असर परेको तथ्यांक छ । पर्सामा करिब ६० घरमा क्षति पुगेको छ,’ राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भने, ‘धेरै गरिब नै पीडित बनेका छन् । उनीहरूका कमजोर घर र टहरा उडाएको छ । धनीहरूका पक्की घर भएकाले असर कम छ ।’
गृह मन्त्रालयका अनुसार अझै २ सय ४५ जनाको उपचार भइरहेको छ । २ सय ३३ को पर्सा, ३ को बारा र ९ को काठमाडौंमा उपचार भइरहेको छ । हावाहुरीमा करिब सात सय घाइते भएका थिए ।
यस्तै गृहले मृतकका परिवारलाई एक लाखका दरले राहत रकम बारा र पर्सा पठाइसकेको छ । प्राकृतिक विपत्मा मृत्यु भएकाको परिवारलाई सरकारले एक लाख दिने गरेको छ । घाइतेको उपचार खर्च सरकारले नै व्यहोर्ने निर्णय मंगलबार नै गरिसकेको छ । गृहले पीडित परिवारसम्म राहत पुगिसकेको दाबी गरेको छ । त्रिपाल र खाद्यान्न कतै अपुग नभएको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खनालले जनाए ।
प्रदेश सभामा शोक प्रस्ताव पारित
सुदूरपश्चिम प्रदेश सभा बैठकले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख अर्जुनबहादुर थापाले गरेको शोक प्रस्ताव प्रदेश सभाले पारित गरेको हो । बैठकमा हावाहुरीमा ज्यान गुमाएकाको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो । शोक प्रस्ताव पारित भएपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । त्यसपछि बसेको अर्को बैठकमा प्रदेश सभा सदस्यहरूले पाउने एक दिनको तलब हावाहुरीपीडितको राहत र पुनस्र्थापनामा सहयोग गर्ने जानकारी दिइयो । उपसभामुख निर्मला बडाल जोशीले प्रदेश सभामा रहेका सबै पार्टीका संसदीय दलका नेताहरूको प्रस्तावमा प्रदेश सभाका सदस्यको एक दिनको तलब पीडितका लागि दिने निर्णय भएको जानकारी गराइन् ।
प्रदेश २ सरकारको राहत योजना चार महिनाभित्रै प्रि–फ्याब घर निर्माण गरिदिने
बारा र पर्साका हावाहुरी प्रभावितलाई तत्काल राहत दिन प्रदेश २ सरकारले ६ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मंगलबार बसेको राहत तथा उद्धार व्यवस्थापन समिति बैठकले पूर्णरूपमा घर क्षति भएको परिवारलाई चार महिनाभित्रै प्रि–फ्याब घर निर्माण गरी उपलब्ध गराउने निर्णय गरेको छ । साथै, तत्काल अस्थायी बसोवासका लागि त्रिपाल र टेन्टको व्यवस्था गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जनाए ।


















