काठमाडौं / वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको जनाउँदै काठमाडौं र अन्य ठूला सहरमा ३ सय विद्युतीय यातायात (बस) सञ्चालन गर्ने बारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाएको जानकारी दिए ।
विश्व हरित वृद्धि संस्था ‘जिजिजिआइ’ सँग सम्झौता गर्न बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।
नेपालको विद्युतीय यातायात प्रवद्र्धनमा सहयोग गर्न विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र जिजिजिआईका प्रतिनिधिबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो।
मन्त्री बस्नतेले सोमबारै नेपालमा जिजिजिआईको कार्यालयको उद्घाटनसमेत गरेका थिए। मन्त्री बस्नेतले जिजिजिआईसहित वातावरण संरक्षणका क्षेत्रमा सक्रिय संघसंस्थासँग सहकार्य बढाउन चाहेको उल्लेख गरे।
यसअघि वन मन्त्रालय र साझा यातायातसँग मिलेर विद्युतीय यातायात सञ्चालन गर्न कार्ययोजना तयार गर्न सहयोग गरेको जिजिजिआईले विद्युतीय यातायातमार्फत हरित अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य राखेको सो संस्थाले जनाएको छ।
यसमा जिजिजिआईले प्राविधिक र आर्थिक सहयोग जुटाएको छ। हस्ताक्षरपछि साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरले जिजिजिआईको प्राविधिक सहयोगले विद्युतीय सवारीको दीगो सञ्चालन गर्न मद्दत पुग्ने जनाउँदै यसमा सरोकारावाला सबैको सहयोग आवश्यक रहेको जनाए ।


















