काठमाडौं / नेपाल वायुसेवा निगमले वाइडबडी विमान किन्दा लिएको ऋणको किस्ता तिर्न छाडेको छ । किस्ता समयमै नबुझाएपछि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जमानी बसेको सरकारलाई गुहारेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले निगम र दुबै कोषका अधिकारीलाई बोलाएर छलफलसमेत गरेको छ ।
तर, छलफमा वायुसेवा निगमका अधिकारीहरुले भने किस्ता तिर्न नसक्ने बताएको छ । उल्टो २० अर्ब रुपैयाँ अनुदान नदिए संस्था झनै समस्यामा पर्ने तर्क गरेका छन् ।
निगमले कर्मचारी सञ्चय कोषको पुस महिनाको किस्ता बुझाएको छैन भने चैतमा नागरिक लगानी कोषको किस्ता बुझाएन । निगमले वाइडबडी किन्दा लिएको ऋणको किस्ताबापत झण्डै ४१ करोड र न्यारोबडीको ३४ करोडको कस्ता तिरेको छैन
वायुसेवा निगमले सञ्चय कोषलाई तिर्न बाँकी किस्ताको बक्यौता रकम झण्डै १ अर्ब १२ करोड छ । नागरिक लगानी कोषको ४१ करोडबढी किस्ता पनि तिरेको छैन ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष दुबै गर्दा किस्ता बापत तिर्नुपर्ने बक्यौता डेढ अर्ब नाघेको छ ।
दुबै कोषका अधिकारीहरुले भने वायु सेवा निगमले ऋण नै नतिर्न खोजेको त होइन भन्ने आशंका गरेका छन् । ‘एक रुपैयाँ पनि तिर्न नसक्ने भन्ने हुँदैन,’ सञ्चय कोषका एक अधिकारीले भन्छन्, ‘वायुसेवा निगमको किस्ता नतिर्ने नियत नै देखियो ।’
पर्यटन मन्त्रालयका भएको छलफलमा कोषका अधिकारीले कर्मचारीको तलबभत्ता रोकेर भएपनि किस्ता तिर्न आग्रह गरेका थिए । तर, निगमका अधिकारी अब सबै कुरा सरकारको हातमा भएको भन्दै पन्छिएको बैठकमा सहभागी एक अधिकारीले जनाए ।


















