हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका–७ टुलिङमा पाँच वर्ष पछि बिजुली पुगेको छ। हिल्दुम वितरण केन्द्रबाट बिजुली लगिएपछि गाउँका ३१ घरधुरीले शनिबार साँझदेखि उज्यालो देख्न पाएका हुन् ।
टुलिङ गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउन पहिलो किस्ता ९० हजार र दोस्रो किस्ता १ लाख ५७ हजार रुपैयाँ खर्च गरिएको छ।
२०७० मा टुलिङ गाउँका ३१ घरधुरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखे पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापरवाहीका कारण बिजुली ढिलो पुगेको स्थानीय नन्द शाहीले जानकारी दिए। ढिलै भए पनि अन्धकारबाट उज्यालो देख्न पाउँदा खुशी लागेको स्थानीय बासिन्दाले जानकारी दिए।
गाउँमा पाँच वर्षपछि बिजुली पुगेपछि घरायसी काम गर्न र राति बालबालिकालाई लेखपढ गर्न सहज भएको वीरबहादुर शाहीले जानकारी दिएको छ।


















