सुनतस्करहरुले प्रधानमन्त्रीलाई चुनौती दिए

150

 काठमाडौं /   प्रहरीले रसुवाको टिमुरेबाट सात केजी अवैध सुन बरामद गरेको छ । चीनबाट रसुवाको केरुङ नाका हुँदै भित्रिएको ७ केजी सुन प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी स्थापनाको ७० औं दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले ३८ किलो सुन आउने प्वाल टालिसकेको जनाएकाे भोलिपल्टै प्रहरीले रसुवाबाट सात केजी अवैध सुन बरामद गरेको हो।

सरकारले संगठित सुन तस्करीविरुद्ध कुनै कसुर बाँकी नराखेको जनाउँदै सुन तस्करीका कारोबारीहरु आत्तिएको जनाइरहँदा एकपछि अर्को अवैध सुन बरामदका घटनाहरु लगातार बाहिर आइरहेका छन्। मंगलबारको घटना त्यसैको पछिल्लो निरन्तरता हो। सोमबारमात्रै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक वर्षे समीक्षा सुनाउने क्रममा संगठित सुन तस्करीविरुद्ध कुनै कसुर बाँकी नराखिएको जनाएका थिए।

महानिरीक्षक खनालले यस्तो जनाएकै भोलिपल्टै  प्रहरीले ८ वैशाखमा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका एक भियतनामी र एक कम्बोडियन महिलाबाट तीन केजी अवैध सुन बरामद गरेको थियो।

प्रहरीले सोमबार मात्रै वर्ष २०७५ मा ७८ केजी ८ सय ७६ ग्राम अवैध सुन बरामद भएको जनाएकाे थियो। ४५ करोड ४ लाख ६० हजार ६५ रुपैयाँ बराबरको सुन बरामद गरेको प्रहरीले सोही समयमा १ सय ३७ जनालाई सुन तस्करीमा संग्लन भएको आरोपमा प्रतिवादी बनाएको थियो। प्रधानमन्त्रीले संगठित सुन तस्करी रोक्न सरकारले सफल भएको बताइरहेकै महिनामा एक पछि अर्को अवैध सुन बरामदका घटनाहरु सार्वजनिक भइरहेका छन्।

२०७४ माघ ९ मा मोरङ उर्लाबारीका गोरे भनिने चुणामणि उप्रेतीको समूहले विमानस्थल हुँदै भित्र्याएको ३३ केजी अवैध सुन हराएपछि सुरु भएको अपहरण र व्यक्ति हत्याको घटनामाथि अनुसन्धान गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएको थियो। उक्त समितिले २०७५ साउनमा संगठित सुन तस्करीबारे साढे सात सय पृष्ठको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएका थिए। तर, उक्त प्रतिवेदनमाथि त्यसयता न त प्रधानमन्त्री कार्यालयले थप अनुसन्धान र कारबाही सुरु गर्‍यो न यो प्रतिवेदनमा टेकेर गृह मन्त्रालयले नै कुनै कारबाही अघि बढायो। बरु प्रधानमन्त्रीले संगठित सुन तस्करीको सञ्जाल ध्वस्त भएको अभिव्यक्ति दिइरहेको आजको कन्तिपुरमा खबर छ ।

प्रहरीले श्रृंखलाबद्ध रुपमा अवैध सुन बरामद गरिरहेको देखिन्छ। ८ वैशाखमा मात्रै विमानस्थल प्रहरीले भियतनाम र कम्बोडियाबाट आएका महिलाको साथबाट तीन केजीभन्दा धेरै अवैध सुन बरामद गर्‍यो। त्यस्तै २८ चैतमा मलद्वारमा लुकाएर साढे तीन केजी अवैध सुन ल्याएका तीन चिनियाँ नागरिकलाई विमानस्थल प्रहरी र भन्सार टोलीले पक्राउ गर्‍यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here