नेपाल कहिल्यै पराधीन भएन भन्ने कि कहिल्यै स्वतन्त्र भएन भन्ने ?

237

-राज्यलक्ष्मी शाक्य
आज बैशाख ११ गते । यी पंक्तिहरु लेख्न बसिरहँदाको समय मैले जनआन्दोलन–२ लाई सम्झिरहेको छु । राजा ज्ञानेन्द्रले शासनसत्ता लिएपछि तत्कालीन युद्धरत नेकपा (माओवादी) र संसदवादी धारका राजनीतिक दलहरुबीच मोर्चाबन्दी भएर राजाको शासन विरुद्ध आन्दोलन भएको थियो । त्यही आन्दोलनले राजालाई गद्धीबाट बाहिरिन बाध्य बनायो । त्यसैले यो दिनलाई राजाले घुँडा टेकेको दिन पनि भन्न सकिन्छ । शासन सत्ता जनताले आफ्नो हातमा लिएर नेपालको इतिहासमा सुनौलो दिनको रुपमा लोकतन्त्र दिवस ६२/६३ को जनआन्दोलन सफल बनाएको दिन हो यो । यही दिनलाई निरंकुशता हटेको दिनका रुपमा मनाउँदै आइएको छ । यस आन्दोलनमा ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुको महान वलिदानी र तपस्याको कारण नै आज नेपाल १३ औँ लोकतन्त्र दिवस मनाउन सफल भएको छ ।

नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्वपूर्ण समय मानिएको ६२/६३ को जनआन्दोलनकै जगमा रहेर तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश घोषणा भएको हो ।

आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाह आफैबाट विगठित संसद् पुनःस्थापना गदै ‘जनताको नासो जनतालाई नै दिएँ’ भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यसै दिनदेखि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको आजको दिन स्वतन्त्र लोकतान्त्रिक नेपालमा जनताका छोरा छोरी जो कोहीले पनि देशको शासन सत्ता सम्हाल्न सक्ने हैसियत राख्न सक्ने अवस्था बनेको छ । आज देशमा जनताद्धारा निर्वाचित जनप्रतिनिधिले देशको राष्ट्राध्यक्ष बन्ने अवसर प्राप्त गरेको अवस्था छ ।

देशलाई समृद्धिको बाटोमा हिडाउँन संविधानसभाको यात्रा यही आन्दोलनबाट सुरु भएको थियो । फलस्वरुप सवै नेपालीको आकांक्षा पुरा गर्न २०७२ असोज ३ गते ‘नेपालको संविधान(२०७२)’ जारी हुन सफल भएको थियो । धेरै पछि लोकतन्त्रात्मक नेपालले निर्वाचित बहुमतको सरकार पाएको छ । हालको वर्तमान सरकार लोकतन्त्रको कार्यन्वयनमा अगाडि बढिरहेको छ । तर जुन अवस्थामा जनताले अनुभूति गर्ने गरी बढ्नुपर्ने हो त्यो अवस्थामा सरकार अगाडि बढ्न सकेको पाइदैन । हालको वर्तमान सरकार झन निरकुशं बन्दै गएको महसुस गर्न सकिन्छ । जनताले स्वतन्त्रताको आभाष गर्न पाइरहेका छैनन् । जनआन्दोलन पश्चात जनतामा पलाएका आशाहरु निराशामा परिणत हुँदै गएका छन् । सरकार बदलिन्छन् तर प्रवृत्ति उस्तै देखिन्छ । स्थायी सरकार बनेको अवस्थामा पनि सरकारले जनतामा उत्साह जगाउन सकेको छैन । जनतामा निराशा व्याप्त छ । शहिद र घाइतेका परिवारहरु सधै पीडित माथि पीडित बन्दै गएका छन् ।

नेपालमा प्रजातन्त्र दिवस आयो ! लोकतन्त्र दिवस आयो ! गणतन्त्र दिवस आयो ! तर देश विदेशी इशारामा चल्नुपर्ने बाध्यता बनिरहेको अवस्था छ । देश पराधीन कहिले भएन भनिन्छ , तर यो देश सधैंभरी विदेशीको इशारा र विदेशीको स्वार्थमा मात्र चलेको देखिन्छ । देशको विदेश नीतिमा देशका नेताहरु विदेशीहरुको मुख ताक्छन् । देशका समृद्धिका आधार– जलसम्पदा विदेशीका पाउमा समर्पण गरेका छन् । देशको नागरिक परिचित गराउने नागरिकताको प्रमाणपत्र विदेशीहरुलाई वितरण गरिरहेका छन् । यस्तो देशलाई स्वतन्त्र भन्न कसरी सकिन्छ ? मलाई त लाग्दछ , हाम्रो देश विदेशी प्रभूत्वबाट र विदेशी दासत्वबाट वास्तवमै स्वतन्त्र भएको छैन । त्यसैले म त भन्छु हाम्रो देशमा स्वतन्त्रता दिवस कहिल्यै आएन ! जनताले कहिले स्वतन्त्रताको महसुस गर्न सकेको अवस्था छैन । बरु स्वतन्त्रताकको नाउँमा छाडातन्त्र भने मौलाउँदै गएको पाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here