विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित

66

काठमाडौ, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु  संविधान विपरित भएको बताएका छन् । ‘संविधानमा राजनीतिक दललाई प्रतिबन्ध लगाउने व्यवस्था कतै छैन,’उनले भने,‘ जति कुरा विप्लवजीले उठाएका छन् ती सबै राजनीतिक कुरा हुन्।

उनलाई राज्यले राजनीतिक व्यवहार गर्नु पर्दथ्यो।’ बुधबार दाङको टरिगाउँ विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले सीके राउतसँग रातारात वार्ता गर्ने सरकारले विप्लवसँग वार्ता गर्न खास ध्यान नदिएको टिप्पणी गरे। ‘वार्तामा बोलाउनका लागि मात्रै बोलाएर हुँदैन।

सीके राउतसँग वार्ता गरेजसरी विप्लवसँग किन गरिएन,’उनले प्रश्न गरे। वैद्यले विप्लवमाथि दमन र यातना दिएर समस्याको समाधान नहुने बताए। ,‘विप्लव पक्षका कतिपय राजनीतिक, विचार र लाइनसँग हामी सहमत छैनौं। तर, त्यो राजनीतिक समूह हो। उहाँहरुसँग सरकारले राजनीतिक समूहका रुपमा वार्ता गर्नु पर्छ,’उनले भने,‘दमन गरेर, यातना दिएर समस्या समाधान हुँदैन, झन् बल्झाउँछ।’

फरक प्रसंगमा वैद्यले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए। ‘कम्युनिष्टको सरकार छ भन्ने कुरा त बाहिर छ। सरकारले समृद्धिको कुरा पनि गरिरहेको छ,’उनले भने,‘तर, समृद्ध नेपाल सुखी नेपालको नारा अनुसार सरकार अघि बढ्न सकेको छैन।’ जनताले अब दुई तिहाईको सरकार कसरी अघि बढ्छ भन्ने प्रश्न उठाउन थालेको वैद्यको भनाइ छ। उनले ओली र प्रचण्ड नेतृत्वको नेकपा दक्षिणपन्थी भासमा जाक्किएको आरोप
लगाए। ‘नेकपा दक्षिणपन्थी पार्टी हो। नेकपा नाम नराखेको भए हुन्थ्यो, अलिक भ्रम पर्ने खालको भयो,’उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here