काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवास परिसरको सरकारी जग्गा प्रकरणमा दोषी ठहर भएमा जुनसुकै सजाय भोग्न तयार रहेको जनाएका छन् ।
सोमबार भएको संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा पौडेलले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने जनाए ।
‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस् दोषीलाई कडा कानूनी कारबाही होस् भन्ने माग गर्दछु’ उनले भने ‘र म आफू दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार छु ।’
पौडेलले सरकारले व्यक्तिको नाममा गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वको एवं सार्वजनिक जग्गा सरकारको नाममा फर्काउन चालेको कदमको स्वागत गर्ने कुरा पनि व्यक्त गरे ।


















