एक महिनापछि खुल्यो कृषि तथा वन विज्ञान विश्वविद्यालयको ताला

250

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा प्राध्यापकले लगाएको ताला एक महिनापछि खुलेको छ। गत चैत २१ देखि लागेको ताला २६ वैशाखबाट खुलेको विश्वविद्यालय प्रशासनले जनाएको छ।

ताला खुलेसँगै विश्वविद्यालयको पठनपाठन पनि नियमितरूपमा सुचारु भएको छ। गएको चैत २१ गते विश्वविद्यालयको कृषि संकायका सहायक डिन प्राध्यापक विष्णुराज ओझालाई विद्यार्थीले कालोमोसो दलेर जुत्ताको माला लगाइदिएपछि प्राध्यापकहरूले दुर्व्यवहार गर्ने विद्यार्थीलाई कारबाहीको माग गर्दै विश्वविद्यालयमा ताला लगाई पठनपाठन ठप्प पारेका थिए।

पटकपटकको छलफलपछि प्रध्यापक संघ तालाबन्दी खोल्न सहमत भएको विद्याविद्यालयका प्रशासन प्रमुख बुद्धिनाथ ढुंगानाले जनाए। उनले भने, ‘हिजोदेखि विश्वविद्यालयमा पठनपाठन सूचारु भएको छ, अहिले विश्विद्यालयमा भएको आन्दोलन पनि सबै रोकिएको छ।’ उक्त दुर्व्यवहार कार्यमा संलग्न विद्यार्थीलाई विश्वविद्यालयले ६० दिनका लागि विद्यालयबाट निष्कासन गरेको छ।

विद्यार्थीमाथि कारबाही गरेपछि अनेरास्ववियुले पनि अर्को ताला लगाएपछि विद्यार्थीको पठनपाठन थप प्रभावित बनेको थियो। विद्यार्थी संगठनले केही दिनअघि तालाबन्दी खोलेलगत्तै प्राध्यापक संघले पनि महिनौँदेखिको तालाबन्दी खोलेका छन्। केही विद्यार्थीका कारण सयौँ विद्यार्थीको भविष्य अन्योलमा पार्नुहुँदैन भन्ने निष्कर्षसहित आन्दोलन फिर्ता लिएको संघका अध्यक्ष रामआशिष साहले जनाए। उनले भने, ‘विद्यार्थीहरूले पनि खोल्न आग्रह गरे, विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउनुहुँदैन भन्ने सबैको सल्लाह आएपछि ताला खोलेका हौँ।’

कृषि संकायका डिन डा। शारदा थपलियाले विद्यार्थी संगठन र प्राध्यापक संघको तालाबन्दी खुलेसँगै पठनपाठन नियमितरूपमा सुचारु भएको जनाए। उनका अनुसार कृषि संकायमा १६५ जना विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयमा हुने विभिन्न किसिमका आन्दोलनले विद्यार्थीसँगै विश्वविद्यालयको भविष्य नै अन्योलमा पर्नसक्नेतर्फ सरोकारवाला चिन्तामा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here