स्थानीयको अवरोधका कारण बिरामीलाई सास्ती

295

काठमाडौं । ढोलाहिटी–चापागाउँ सडकमा स्थानीयको अवरोधका कारण बिरामीले सास्ती भोग्न बाध्य भएको छ ।
६० वर्षीय बुद्धिमाया बम्जनको मृगौलामा समस्या छ । ललितपुरस्थित पाटन अस्पतालमा डायलासिसका लागि नियमित जानुपर्छ । कन्जोसोङ गाउँपालिका वडा नम्बर–४ कि बम्जन ५ दिनदेखि अवरुद्ध सडकका कारण सवारी साधन सञ्चालन नभएकोले सास्ती भोग्न बाध्य भएको छ । सडक विस्तार सुरु भएको ४ वर्ष वितिसक्दा पनि पनि जीर्ण सडकको अवस्थामा सुधार आएको देखिदैन । सडकबाट उड्ने धुलोका कारण स्थानीयको कोठा–चोटामा बगे्रल्ती असर पुगेको छ । सडकका खाल्डामा बर्खामा जम्ने पानी र हिलोको सास्ती पनि वर्णनातित छ ।

सडकको नाजुक अवस्था भएकोले अन्ततः स्थानीयले स्थानीय सडक अवरोध निर्णय लिएका कारण कारण ढोलाहिटीदेखि चापागाउँसम्मको सडकमा कुनै प्रकारका सवारी साधन चल्न सकेका छैनन् । एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधन सञ्चालनमा कुनै अवरोध नपुर्याउने स्थानीयले जनाए तापनि एम्बुलेन्सको पहुँच नपुग्ने बिरामीलाई अस्पताल जान समस्या भएको छ । “गाउँमा भन्नेबित्तिकै एम्बुलेन्स पाइँदैन । त्यसैले आमालाई मोटरसाइकलमा राखेर पाटन अस्पतालसम्म जान लागेको तर बाटामा धेरै साथीहरुले डाक्टरको पुर्जा चाहिन्छ, बिरामी भए एम्बुलेन्समा हालेर लानु भन्दै अवरोध गर्नुभयो,” मङ्गलबार धापाखेलको अवरुद्ध सडकमा रोकिएका बुद्धिमायाका छोरा आकाश बम्जनले जानकारी दिए, “सधैं १ घण्टामै अस्पताल पुगिने बाटो अवरोधले गर्दा यहाँसम्म आइपुग्नै २ घण्टा लागेको छ ।”

यस्तै गाउँका क्लिनिक स्वास्थ्य चौकीमा उपचार हुन नसकेर ललितपुर र काठमाडौंका विभिन्न अस्पतालसम्म पुग्नुपर्ने बिरामीले अवरुद्ध सडकका कारण सास्ती बेहोर्नु परेको छ । सडकमा सवारी साधन सञ्चालन नहुँदा पैदल हिँड्ने वृद्धवृद्धालाई समेत असहज भएको छ ।

‘समय हेर्यौं पटक पटक, हट्दैनौं हामी यो पटक १’ ‘बाटो बन्द छ । सडक पिच नहुन्जेलसम्म बाटो बन्द हुनेछ’ ‘सडक ५ बजे खुल्छ’ जस्ता पम्पलेट टाँगेर स्थानीयले सडक सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

१२ किमि सडकखण्डको ठेच्व, धापाखेल, झ्यालीपाटी, चापागाउँ, प्याङगाउँ र टाखेलमा स्थानीयले बाँस, टायर, ढुङ्गा, काठ राखेर सडक अवरोध गरेका छन् । “एम्बुलेन्स, तरकारी, औषधी, दूध ढुवानी गर्ने सवारी साधन प्रेस र बिरामी बोकेका मोटरसाइकललाई हामीले अवरोध पुर्याएका छैनौं,” ठेचुका स्थानीय मनीष केसीले जिकिर गरे ।

सडक विभागको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ०७२ असोजमा १ वर्षमै सम्पन्न गर्नका लागि कन्टेक निर्माण प्रालिलाई सडकलाई २० मिटरमा विस्तार र पिच गर्नका लागि ठेक्का लगाएको हो । तर, ठेक्का लागेको ४ वर्ष बित्दा पनि सडकको अवस्थामा सुधार आएको छैन ।

सर्वोच्च अदालत, मन्त्रिपरिषद् निर्णय, सडक विभाग र ठेकेदार कम्पनीको आ–आफ्ना अडानका कारण सडक विस्तार र पिच गर्ने कार्य प्रभावित बनेको छ । ०७५ असारमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा पीडितलाई घरको क्षतिपुर्तिसहित मुआब्जा पनि दिन अन्तरिम आदेश जारी गरेको छ ।

यसपछि मन्त्रिपरिषद् बैठकले विस्तारका क्रममा रहेका सडकलाई हाल उपलब्ध र विवाद नभएका स्थानमा पिच गर्ने निर्णय गर्दै विभागलाई निर्देशन दिएको छ । विभागले सोही निर्णयअनुसार ठेकेदारहरुलाई काम लगाउन सकेको छैन । ललितपुरको उक्त सडकको ठेकेदार कम्पनी कन्टेक निर्माण प्रालिले २० मिटर साइट क्लियर नभएसम्म सडक पिच गर्न नसकिने जानकारी दिएका छन् ।

“सडक अवरोध भएका कारण बिरामी साथै सम्पूर्ण सर्वसाधारणमा परेको मर्का मैले बुझेको छु । चाँडै पिच गर्नका लागि हामी सडक विभाग, मन्त्रालयका प्रतिनिधि र ठेकेदारसँग छलफलका क्रममा छौं । बुधबारसम्ममा निर्णयमा पुग्ने देखिन्छ,” गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here