नागरिकतासम्बन्धी विधेयक यथास्थितिमा पारित हुँदैन : नारायणकाजी श्रेष्ठ

389

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक यथास्थितिमा पारित गर्ने पक्षमा पार्टी नहुने जनाएका छन् ।

पेसागत महासंघ नेपालको २५ औं स्थापना दिवसका अवसरमा आयोजित ‘राष्ट्रियताको प्रवद्र्धन र नागरिकताको सवाल’ विषयक अन्तरिक्रयामा उनले नेपाल नागरिकता ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई यथास्थितिमा पारित गर्ने पक्षमा पार्टी नरहेको स्पष्ट पारेका थिए ।

उनले भने, ‘नागरिकता राष्ट्रियतासँग जोडिएको विषय हो, नागरिकता विधेयकमाथि छलफल भइरहेको छ, केही निश्कर्ष निकाल्छ तर यथास्थितिमा पारित हुँदैन ।’

उनले कुटनीतिक आचारसंहिताको प्रभावकारी रुपमा पालना नहुँदा पनि राष्ट्रियतामा प्रभाव परिरहेको र देशको समृद्धिको मोडल स्पष्ट रुपमा तय नहुँदा पनि राष्ट्रियतामा असर परेको उल्लेख गरे ।

नेता श्रेष्ठले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सरकारी छाताभित्र ल्याएर नियमन गर्न जरुरी रहेको उल्लेख गर्दै जनतासँग प्रत्येक्ष रुपमा जोडिएको विकास निर्माणका कार्य बाहेक तालीम लगायतका अन्य गतिविधि पारदर्शी बनाउनु जरुरी रहेको बताए ।

नेकपा राष्ट्रियताको संरक्षण र संवद्र्धनका लागि राष्ट्रको पहरेदारको रुपमा काम गर्ने र राष्ट्रियतालाई बलियो बनाउने विषयमा सदा एकजुट हुने उनले विश्वास व्यक्त गरे ।

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले नागरिकता जस्तो राष्ट्रियतासँग जोडिएको विषयमा विवाह गरेर विदेशी महिला ल्याउने वित्तिकै नागरिकता दिन नहुनेमा जोड दिएका थिए ।

‘हाम्रा चेली भारतमा विवाह गरेर गए सात वर्ष लाग्छ नागरिकता पाउन तर विदेशी महिला विवाह गरेर ल्याउँदा एक हातमा सिन्दुर, एक हातमा नागरिकता र अर्को हातमा मन्त्री पद, यस्तो पनि काही हुन्छ रु,’ उनले प्रश्न गरे ।

नेकपाका नेता साध्यबहादुर भण्डारीले गुमेको सुस्ता, सिमानामा हुने लडाइजस्ता क्रियाकलापलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने र नागरिकतासम्बन्धी विधेयक वृहत छलफल गरेर मात्र अन्तिम रुप दिनुपर्नेमा जोड दिए ।

वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले विवाह गरेर आएका महिला वा पुरुष दुवैलाई देशमा सात वर्ष योगदान दिएपछि मात्र अंगीकृत नारिकता दिनुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले राष्ट्रियताको सवाल र नागरिकताको विषयमा सरकारले विशेष रुपमा ख्याल गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here