काठमाडौं / नेकपाको केन्द्रीय सदस्यहरुको कार्यविभाजन र पोलिटव्युरो गठन आगामी महाधिवेशनपछि मात्रै हुने भएको छ । पोलिटब्युरोमा प्रस्तावित नाममा पूर्वमाओवादी केन्द्रभित्र विवाद उत्पन्न भएपछि नेकपाको पोलिटब्युरो गठन तत्कालका लागि टरेको हो ।
नेकपाको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय निकाय, विभागहरूलाई पूर्णता दिने र केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने तयारी गरेको थियो । पूर्वमाओवादीभित्र प्रस्तावित नामका विषयमा विवाद भएको र पोलिटब्युरोमा नपरेका केही नेताहरूले दाहालसंग असन्तुष्टि जनाएपछि दाहालले नै अहिले नगरौँ भनेपछि प्रधामन्त्री ओली संकटमा परेका छन ।
ठूलो कमिटी प्रणालीमा अभ्यस्त पूर्वमाओवादीभित्र कुनै मापदण्डले काम नगरेको र पोलिटब्युरोमा नामै प्रस्ताव गर्न कठिन भएपछि पूर्वमाओवादी केन्द्रले जनयुद्धकालमा पार्टी केन्द्रीय सदस्य बनेकामध्येबाट बनाउने मापदण्ड तयार पारेर नाम प्रस्तावसमेत गरेको थियो । तर, शान्ति–प्रक्रियामा आइसकेपछि एमाओवादी हुँदै माओवादी केन्द्रमा प्रवेश गरेका र मोहन वैद्य समूहबाट अलग्गिएर एकता प्रक्रियामा सामेल भएका रामबहादुर थापा समूहलाई पनि पोलिटब्युरोमा स्थान दिनुपर्ने भएपछि दाहाल समस्यामा परेको जनाइएको छ ।
एकीकरणको काम समयमा नसक्दा पार्टी तदर्थवादमा चलिरहेको नेताहरूको बुझाइ छ । पार्टी एकीकरण हुनुअघि तत्कालीन एमाले र माओवादी केन्द्रमा सरकारका कामकारबाही हेर्नका लागि पार्टीका विभागहरू थिए । राजकीय मामिलासम्बन्धी विभागले सरकारको कामकारबाही, नियुक्तिमा जाने व्यक्तिहरूसँग छलफल गर्ने गर्थ्यो । त्यस आधारमा सरकारलाई सिफारिस गर्ने चलन थियो । विषयगत मुद्दाहरू हेर्ने छुट्टाछुट्टै विभाग थिए । ती विभागले आफंै पनि सरकारलाई सुझाव पठाउने गर्थ्यो ।
एकीकरणपछि त्यस्ता विभाग बन्नै सकेका छैनन् । विभागहरू नहुँदा पनि सरकार र पार्टीको दूरी बढेको छ । त्यस्ता विभाग र नेताहरूको कार्य्विभाजन कहिले हुने हो, एक वर्ष बितिसक्दा पनि टुंगो लाग्न सकेको छैन ।


















