काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि नागरिकता विधेयक विरुद्धको आन्दोलनमा आउन आग्रह गरिने भएको छ ।
नेकपा मालेको केन्द्रीय कार्यालयमा आयोजित नागरिकता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नागरिकता विधेयक विरुद्धको आन्दोलन उठाइरहेका पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले राष्ट्रवादी छविका कारण मत पाएको नेकपाले यहि हालतमा नागरिकता विधेयक पास गर्न नसक्ने भएको कारण राष्ट्रवादी छु भन्ने सबै नेताहरुले साथ दिने विश्वास व्यक्त गरेका छन् ।
नेकपा मालेका महासचिव सीपी मैनालीद्वारा प्रस्तुत अवधारणामाथि टिप्पणी गर्दै नेकपाका केन्द्रीय सदस्य नारायण शर्माले झुकेर, चुकेर, विकेर सत्तामा गएको होइन भन्ने प्रमाणित गर्न पनि नेताहरुले राष्ट्रियताको अडान लिनुपर्ने जनाए । देश अहसजतामा गइरहेको चिन्ता व्यक्त गर्दै उनले खबरदारी आन्दोलन बढाउन सबै जुट्नु पर्ने जनाए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनसांख्यिक आक्रमण भयंकर बढ्न थालेकोमा सत्ताधारीहरुमा चिन्ता नबढेको प्रति रोष प्रकट गरेका थिए भने नेता हिमलाल पुरीले कार्यक्रमको स्वरुप र सम्भाव्यताबारे धारणा राखेका थिए । प्रशासनविद डा। द्वारिकानाथ ढुंगेलले देशको अस्मितामाथि खेलवाड गर्ने छुट कसैलाई नभएको कुरा शिघ्र सम्प्रेषण हुन नसकेको प्रति चिन्ता व्यक्त गरे भने अभियन्ता साध्यबहादुर भण्डारीले सत्ताधारी पार्टी भित्र पनि राष्ट्रवादी शक्ति रहेकोले आन्दोलनमा व्यापक सहभागिता हुने आशा व्यक्त गरे ।
सर्वोच्च अदालतका पूर्व रजिष्टार श्रीप्रसाद पण्डितको अध्यक्षता र नेता सीपी मैनालीद्वारा सञ्चालित सो कार्यक्रममा देवीप्रसाद ओझा, सुर्यनाथ उपाध्याय, भरत गौतम, धिरेन्द्र चन्द सोडारी, सुशिल गौतम, निलकण्ठ तिवारी, शंकर सुवेदी, राजन तिमिल्सिना, केदारचन्द शर्मा, गोपीरमण उपाध्याय, प्रकाश आङबुहाङ, भोजराज गौतम, झलकनाथ वाग्ले, महेन्द्र देवकोटा, गोविन्द निरौला, गोविन्द बोहरा लगायतका वक्ताहरुले नागरिकता विधेयकका विरुद्धमा संगठनात्मक र व्यक्तिगत ऐक्बद्धता जनाएका थिए ।

















