देशै भरि भर्ना अभियान चलिरहेता पनि डोम बालबालिका छोएन

221

लहान / घरसँगै टाँसिएको छ आधारभूत विद्यालय तर, राजविराज नगरपालिका–९ मलेठका ६ वर्षीय शम्भु मरिक पढ्न विद्यालय जाँदैनन् । पढ्ने रहर भए पनि आफूहरूमाथि हुने विभेद र अपमानका कारण मनोज मरिक विद्यालय नगई घरमा खेलेरै दिन बिताउने गर्छन्। पढ्ने उमेर पुगेका सोही ठाउँका ९ वर्षीया ज्योति मरिक पनि विद्यालय जाँदिनन्। उनी बाँसको सामान बनाउने आमाबुबाको कामलाई सघाउने गर्छिन् ।

देशभरी विद्यालय भर्ना अभियान चलिरहेका बेला मनोज र सुरज मात्रै होइन, सो डोम बस्तीका अधिकांश बालबालिका विद्यालय बाहिरै छन्। सदरमुकाम राजविराजदेखि करिब ३ किलोमिटर उत्तरमा रहेको डोम बस्तीमा अहिलेसम्म यस अभियानको कुनै प्रभाव पर्न सकेको छैन। राजविराज–रुपनी सडक छेउमै रहेको सो डोम बस्तीका अधिकांश बालबालिकाहरू विद्यालय बाहिरै रहँदा समेत भर्ना अभियानलाई लिएर न त अहिलेसम्म कुनै विद्यालयका शिर्षक पुग्न सकेको छ न त कुनै संघ संस्थाका प्रतिनिधि नै।

पाँच र छ घरपरिवार रहेको सो डोम बस्तीमा १० भन्दा बढी विद्यालय जाने उमेरका बालबालिका छन्। उनीहरूमध्ये कतिपय विद्यालय नगई घरमै आमाबुबासँग दिन बिताउँछन् भने कतिपयले सुँगुर चराउन जाने गरेका छन्। उनीहरूमा विद्यालय जानुपर्छ भने चेतना आउन सकेकै छैन। छोराछोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने सोच पनि डोम अभिभावकमा पलाउन सकेको छैन।

विद्यालयमा डोम भनेर शिक्षक र अन्य जातका विद्यार्थीहरूबाट हेलाँहोचोका कारण आफूहरूका छोराछोरी विद्यालय जान नमानिरहेको स्थानीय डोम अभिभावकहरूको धारणा रहेको छ । स्थानीयवासी राजेन्द्र कुमार मरिक भन्छन्, ‘एकातिर अभिभावकले आफ्ना बालबच्चालाई स्कुल पठाउन त्यति चासो लिँदैनन् भने अर्कोतर्फ विद्यालयमा हुने गरेको विभेदका कारण पनि विद्यार्थीहरू स्कुल जान मान्दैनन्।’

विद्यालय जाने रहर बालबालिकामा छ तर, उनीहरूका लागि अध्ययन गर्ने अनुकूल वातावरण छैन। अर्का स्थानीयवासी नुनु मरिक भन्छिन्, ‘विद्यालयका केही सरहरूले डोम भनेर बच्चाहरूलाई हेप्ने, छुट्टै बेञ्चमा बस्न लगाउने, अन्य जातिको विद्यार्थी भन्दा डोमका बच्चालाई फरक व्यवहार गर्ने गरेकाले उनीहरू विद्यालय जान मान्दैनन्।’

दलित समुदायमा पनि सबभन्दा तल्लो जातिको मानिने डुम समुदायका बालबालिकाहरू झन् विद्यालयसम्म पुग्नै सकिरहेका छैनन्। दलित अगुवा तथा डुम उत्थान समाजका अध्यक्ष युक्तिलाल मरिक भन्छिन्, ‘डोमका बालबालिकालाई अझै सप्तरीका कतिपय विद्यालयहरूमा छुट्टै बेञ्चमा बसाउने, डोम भन्नेर हेप्ने जस्ता कार्यहरू भइरहेकाले डोम बालबालिकाहरू स्कुल जान मानिरहेका छैनन्।’

शिक्षकहरूको व्यवहारमा परिवर्तन नआएसम्म र अन्य जातका विद्यार्थीसँगै डोम बालबालिकालाई राखेर पढाउने वातावरण नबनेसम्म डोम बालबालिकाहरू निर्धक्क भई विद्यालय जान नसक्ने अध्यक्ष मरिकको बुझाइ छ। डोम जातिको बस्ती नजिक विद्यालय हुनु तर, बस्तीका बालबालिकाहरू विद्यालय नजानु आश्चर्यजनक कुरा हो। स्थानीयवासी अनिल यादव भन्छन्,‘राज्यले दलित विद्यार्थीलाई थुप्रै सुविधाहरू दिइरहेका छन् तर, यहाँका बालबालिका किन स्कुल जाँदैनन् ? अच्चम लाग्ने कुरा हो।’

डोम बालबालिकाहरू विद्यालय नजानाका कारण पत्ता लगाएर उनीहरू नियमित विद्यालय पुग्ने वातावरण बनाउनुपर्ने उनको धारणा रहेको छ । यता मलेठस्थित आधारभूत विद्यालयका प्रअ बैजनाथ प्रसाद यादव भन्छन्, ‘डोम समुदायका बालबालिकालाई स्कुलसम्म ल्याउन धेरै पटक प्रयास गर्‍र्यौं तर, विद्यालयसम्म ल्याउन सकिरहेका छैनौं।’ कतिपय विद्यार्थीलाई विद्यालयमा भर्ना गराए पनि बीचमै विद्यालय छाड्ने गरेको प्रअ यादवले जानकारी दिए ।

प्रअ यादवका अनुसार, ‘विद्यालयमा डोम विद्यार्थीमाथि कुनै किसिमको विभेद छैन। यदि शिक्षक वा विद्यार्थीबाट त्यस्तो विभेद भएको छ भने जानकारी पाएमा कारबाही गर्छौं।’ अभिभावकलाई सचेत पार्न सकिए काम छोडाएर सरसफाइसँगै आफ्ना सन्तानलाई नियमित विद्यालय पठाउन थाल्ने प्रअ यादवको विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here