काठमाडौं / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ।
गत बिहीबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको विरोधमा भोलि नेपाल बन्दको घोषणा गरेका हुन् ।
सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोप्रति नेकपाले विज्ञप्ति मा उल्लेख गरेको छ । नेकपाले हत्या जस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत माग पनि गरेको छ ।
महासचिव विप्लवले सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि बन्दसहितको संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएका छन् ।
विज्ञप्तिमार्फत उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले उक्त कार्यक्रमलाई सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न नेकपाले अपिलसमेत गरेको छ ।
यता सरकारले पनि व्यापक सुरक्षाको तयारी गरेको बुझिएको छ । पार्टीमाथि नै निषेध गरिएकाले सुरक्षाकर्मीहरु दमनमा उत्रिने अनुमान स्वत गर्न सकिन्छ । बन्दको आक्रामक प्रस्तुती र सरकारको पनि आक्रामक सुरक्षा व्यवस्थाको तयारी भएकाले हिंसा भड्किन सक्ने त्रास जनसाधारणमा पाइएको छ ।


















