व्यस्त बजारको बीचमा खुकुरी प्रहार……बजारवासी त्रसित

291

धादिङ / नीलकण्ठ नगरपालिकाको वडा नं ३ पुछारबजारमा खुकुरी प्रहारबाट एक ब्यक्ति घाइते भएका छन्। तर उनले भागीभागी छक्याउँदै ज्यान जोगाएका छन्। अहिले उनलाई उपचारका लागि काठमाडौं लगिएको छ।

नीलकण्ठ नगरपालिका १४ का चन्द्र गुरुङले खुकुरी प्रहार गर्दा नीलकण्ठ नगरपालिका १३ का प्रकाश तिमिल्सेना घाइते भएको प्रहरीले जानकारी दिएको छ। तिमिल्सेनाको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ।

मोटरसाइकलमा आएका गुरुङले बीच सडकमै खुकुरी लिएर तिमिल्सेनालाई लखेट्न थालेपछि बजारबासी त्रसित भएको प्रत्यक्षदर्शी दयाराम लंसालले बताए। लगातार खुकुरी प्रहार भएपछि तिमल्सेना भाग्दै छल्दै गरेकाले ठूलो घटना नघटेको उनले बताए।

खुकुरी प्रहार गर्ने गुरुङ भने प्रहरी विट छेवैबाट फरार भएका छन्। भाग्दै गरेका गुरुङलाई लखेट्दै प्रहरी गएपनि उनी पक्राउ परेका छैनन्।

बाटो बनाउने उपभोक्ता समिति निर्माणको क्रममा विवाद भएपछि आफ्नै साथीले खुकुरी प्रहार गरेको बुझिएको छ। नीलकण्ठ नगरपालिका १३ र १४ जोड्ने बाटो बनाउनको लागि प्रदेश सांसद रामकुमार अधिकारी मार्फत बजेट विनियोजन गरिएको र उक्त योजना कार्यान्वयन गर्नको लागि उपभोक्ता समिति निर्माण गर्ने क्रममा विवाद बढ्दै गएपछि खुकरी प्रहार भएको स्थानीयहरुले बताएका छन्।

यसैबीच गुरुङलाई तत्काल पक्राउ गर्न माग गदै वाइसीएल र युवासंघले पुछारबजारमा आधा घण्टा चक्काजाम गरेको छ। दोषीलाइ पक्राउ गरी तत्काल कारवाही गर्न माग गर्दै उनीहरूले विरोधस्वरुप चक्काजाम गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here